
सन्तोष शर्मा
बनियानी, ५ भदौ । झापा पछिल्लो समय सामुहिक खेतीतर्फ कृषक अग्रसर बन्दै गएका छन् ।
कम खर्च, कम मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामुहिक खेतीतर्फ आकर्षित बन्दै गएका हुन् । सरकारले सामुहिक खेती गर्ने कृषिकलाई कृषि औजार र मल–बिउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र संघीय सरकारले बजेटमै विशेष अनुदान कार्यक्रम ल्याएका छन् ।
पछिल्लो समय झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाका कृषक सामुहिक खेतीमा जुटेका छन् । दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामुहिक खेतीमा जुटेका हुन् ।
यी दुई स्थानीय तहका कृषकले एकलभन्दा पनि सामुहिक खेती गर्दा सहजतासँगै फाइदा हुने निष्कर्ष निकालेर त्यसतर्फ अग्रसर भएका हुन् । प्रगति पथ कृषि सहकारी संस्थामार्फत् यहाँका कृषकले हाल ६५ बिघामा धान खेती लगाइरहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताउनुभयो ।
‘६२ बिघामा रोपाइँ गरिसकेका छौँ’, उहाँले भन्नुभयो, ‘अब एक÷दुई भित्रमा रोपाइँ सकिन्छ ।’ दैनिक ३८÷४० जना रोपार लगाएर धान रोपाइँ भइरहेको उहाँले बताउनुभयो । संस्थामा खनजोतका लागि दुई वटा ट्याक्टर भए पनि अन्य कृषि औजार नभएकाले केही समस्या भएको उहाँको भनाइ छ ।
बिउ प्रतिमुठ्ठा रू ५ र रोपारलाई दैनिक रू ५०० ज्याला दिने गरिएको उहाँले सुनाउनुभयो । ‘धान रोप्ने कृषि औजार छैन’, उहाँले भन्नुभयो, ‘खेतीमा लागत खर्च बढी भएको छ ।’
एकलभन्दा सामुहिक खेती गर्दा सहज भएको झापा–६ का हरिकुमार पराजुलीले बताउनुभयो । ‘एक्लै खेती गर्दा सबै काम आफैँ गर्नुपथ्यो’, उहाँले भन्नुभयो, ‘समूहमा गर्दा खेती गर्न सहज भएको छ ।’ पराजुलीले आफ्नो डेढ बिघा जग्गामा समूहमार्फत खेती गरिरहनुभएको छ ।
पराजुलीको जस्तै भनाइ छ, कनकाई–५ का टीकाराम ओझाको । उहाँले समूहमा कृषि औजारको प्रयोग गरेर वैज्ञानिक खेती प्रणाली आउनुपर्ने बताउनुभयो । ‘समूहमा खेती गर्दा धेरै सहज हुँदोरहेछ’, उहाँले सामुहिक खेती गर्दाको अनुभव सुनाउँदै भन्नुभयो, ‘एक्लै हुँदा सबै कुराको चिन्ता लिनुपथ्र्यो, अहिले त्यस्तो केही तनाव छैन ।’ ओझाले १० बिघा खेती समूहमार्फत् गर्न थाल्नुभएको छ ।
खेतमा अहिले रञ्जित, छोटा बास्मती, लाल बास्मती लगायतका धानको बिऊ लगाइएको छ । प्रतिबिघा ६० मन धान उत्पादन गर्ने लक्ष्य रहेको प्रगति पथ कृषि सहकारी संस्थाका उपाध्यक्ष गोकर्ण ओझाले बताउनुभयो ।
यो क्षेत्रमा गत वर्षदेखि मकै पकेट क्षेत्रसमेत घोषणा भएको छ । यहाँका कृषकले ७० बिघामा सामुहिक मकै खेती गरेका थिए । जसबाट करिब तीन हजार पाँच मन मकै उत्पादन भएको संस्थाका अध्यक्ष चिमरिलाले बताउनुभयो ।
‘१८ सय मन मकै छोडाइसकेका छौँ’, उहाँले भन्नुभयो, ‘बाँकी १७ सय मन जाति छोडाउन बाँकी छ ।’ मकै राम्रो उत्पादन भएपछि कृषक खुसी भएका छन् । मकै पकेट क्षेत्र अन्तरगत सरकारले रू २५ लाख अनुदान समेत दिएको छ ।
संस्थामा दुई वटा मकै रोप्ने मेसिन, एक वटा मकै गोड्ने मेसिन र दुई वटा ट्याक्टर छ । उत्पादिन कृषि उपज भण्डारणका लागि रू एक करोडको लागतमा भण्डारण गृहसमेत निर्माण गरिएको छ । सात हजार पाँच सय वर्गफिटको भण्डारण गृहको क्षमता ३० हजार मन रहेको छ ।
भूमिगत जल सिँचाई अन्तरगत सिँचाइका लागि रू १७ लाखको लागतमा एउटा डिप बोरिङ समेत जडान गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


