
झापा, ६ भदौ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ बैशाख २०७२ बाट एनएमसी दूध डेरी सञ्चालनमा ल्याएपछि किसान उत्साहित बने । उत्पादित दूधको बजार ग्यारेन्टीसहित सहकारीले ऋण लगानी गरेपछि झापामा व्यावसायिक रूपमा गाईपालन गनेर् किसानको संख्या पनि बढ्यो । तर, किसानको उत्साह लामो समय टिक्न सकेन । गाईको दानाको मूल्य बढेसँगै दूधको उचित मूल्य नपाउँदा किसानका लागि सहकारीको आश्वासन गलपासो बन्यो । एनएमसीले बजार मूल्यभन्दा कम मूल्य दिएपछि सहकारीबाट ऋण गरेर शुरु गरेको गाईपालन व्यवसाय निल्नु न ओकल्नु भएको किसानहरूको गुनासो छ ।
‘पहिले डेरीका सञ्चालकहरूले तपाईंहरू गाई पाल्नुहोस्, हामी लगानी गरिदिन्छौँ । दूध पनि हामी नै किनिदिन्छौँ । अब किसानलाई टाई–सुटमा ठाँटिएर हिँंड्ने बनाउँछौं भनेर आश्वासन दिए’, शरणामतीका कृषक सरमान कटुवालले भने, ‘अहिले दूधको उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । डेरीले अहिले प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य दिने गरेको छ, ५५ रुपैयाँभन्दा कम मूल्यमा दूध बेच्दा किसानको लागत खर्च पनि उठ्दैन ।’
झापामा गाईपालन व्यवसाय दानामा आधारित भएका कारण १ लिटर कच्चा दूध उत्पादन गर्न ५२ रुपैयाँ १३ पैसा लागत पर्छ । घाँसमा आधारित हुँदा लागत खर्च कम पनेर् भएपनि किसानहरूले घाँसमै मात्र आधारित भएर उत्पादन गर्न सकेका छैनन् । यो हिसाबले किसानको लागत खर्च हेनेर् हो भने उनीहरू प्रतिलिटर १२ रुपैयाँ घाटामा छन् । तर, डेरीले ४० रुपैयाँमा खरीद गरेको दूध क्रिम निकालेर ७० रुपैयाँ लिटरका दरले उपभोक्तालाई बेचिरहेको छ ।
किसानबाट खरीद गरेको दूध प्रशोधन गर्नका लागि एनएमसी डेरीले प्रतिलिटर ७ रुपैयाँ खर्च गनेर् गरेको स्रोतको दाबी छ । डेरीले फ्याट नापेर दूधको मूल्य दिने बताए पनि फ्याट बढी भएमा कम बनाएर लेख्ने र किसानलाई त्यही अनुसार भुक्तानी गनेर् गरेको चिस्यान केन्द्रका एक कर्मचारीले बताए । एनएमसीले पहुँचवालालाई फ्याट र एसएनएफ ननापिकनै बढी मूल्य दिने गरेको, तर सर्वसाधारण किसानलाई त्यो अनुपातमा मूल्य नदिने गरेको स्रोतको दाबी छ ।
‘गाईको दानाको मूल्य बढेकोबढ्यै छ’, किसान सरमान कटुवाल भन्छन्, ‘तर दूधको मूल्य बल्लतल्ल वर्षमा एकचोटि बढे पनि एक–दुई रुपैयाँ बढ्छ, त्यो किसानका आँखामा छारो हाल्ने मेलो मात्र हो ।’ एनएमसी डेरीले शरणामतीमा चिस्यान केन्द्र स्थापना गर्दा ठूलो आश पलाएको बताउँदै अर्का किसान शरद तिम्सिनाले भने, ‘हाम्रो आशा निराशामा परिणत भएको छ । यस क्षेत्रका धेरै किसानले गाई–भैंसी पाल्न छाडेका छन् । दूधको उचित मूल्य नपाएपछि किसानले भारतको डिगलबैंक लगेर दूध बिक्री गनेर् गरेका छन् । यहाँ ४० रुपैयाँ लिटर बेच्नुपर्छ, तर डिगलबैंक पु¥याउँदा ७० रुपैयाँ लिटर बिक्छ ।’
अर्का एक किसानले भने, ‘हामीले यहाँबाट ११ किलोमिटर टाढा भारतीय बजारमा पु¥याएर दूध बेच्ने गरेका छौं । यो हाम्रो रहर होइन, बाध्यता हो ।’ किसानले यसरी विकल्प खोजेपछि एनएमसीमा दूधको मात्रा घटेको छ । शरणामती चिस्यान केन्द्रमा सुरुमा दैनिक सरदर २८ सय लिटरसम्म दूध संकलन हुन्थ्यो, अहिले दैनिक ११ सय लिटर जति दूध संकलन हुन्छ ।
चिस्यान केन्द्रका कर्मचारीले दूध उत्पादनमा कमी आएको दाबी गरेपनि किसानहरू भने आफूले दूधको उचित मूल्य नपाएपछि सहकारीलाई दिन छाडेको बताउँछन् । शरणामती चिस्यान केन्द्रका कर्मचारी विपिनचन्द्र टुडू ‘दूधको गुणस्तर अनुसारको मूल्य निर्धारण गनेर् गरिएको’ बताउँछन् । उनले भने, ‘हामीले दूधको गुणस्तर अनुसार ३८ रुपैयाँदेखि ६५ रुपैयाँसम्म मूल्य दिएका छौं । यो चिस्यान केन्द्रले दैनिक २५ सय लिटरसम्म दूध लिन सक्छ ।’ तर, एनएमसीले आवश्यकता अनुसार दूध लिनेे गरेका कारण आफूहरू अप्ठ्यारोमा परेको किसानहरूको भनाइ छ । ‘५० लिटर दूध उत्पादन हुँदा २० लिटर मात्र लिने भन्दा अप्ठ्यारो पर्छ कि पदैर्न ?’, एक किसानले प्रतिप्रश्न गदैर् भने ।
‘गत साल एनएमसीले गरेको मिल्क होली–डेमा हामीले व्यहोरेको समस्या हो यो’, एनएमसीले चाहिँदा दूध लिने र बढी हुँदा नलिने गरेको सुनाउँदै उनले भने, ‘हामीले त्यो दूधलाई व्यवस्थापन गर्न नसक्दा ठूलो घाटा व्यहोेरेका छौं । एकातिर गाईलाई दाना किन्न समस्या, अर्कातर्फ सहकारीको ब्याज कसरी तिनेर् भन्ने चिन्ताले हामी समस्यामा प¥यौं ।’ आफूहरूलाई दूधका लागि भारतीय बजार खोज्न एनएमसीले नै बाध्य पारेको’ उनको कथन छ । एनएमसीले हिजो किसानसमक्ष गरेका वाचा पूरा नगरेर समस्या उत्पन्न गराएको बताउँदै किसानले भने, ‘तपाईंहरूले जति दूध उत्पादन गर्नुहुन्छ, सबै हामी लिन्छौं भनेर गाई पाल्न प्रोत्साहन गरे पनि अहिले दूध बढी हुँदा नलिएर सहकारीले हामीलाई धोका दिएको छ ।’
किसानले दूधको उचित मूल्य नपाएको बताइरहँदा एनएमसी डेरीका प्रशासकीय अधिकृत नवराज अधिकारी भने आफूहरूले किसानलाई अन्य डेरीको भन्दा बढी मूल्य दिएको दाबी गर्छन् । ‘फ्याट र एसएनएफको आधारमा हामीले ४८ रुपैयाँसम्म मूल्य दिएका छौं’, उनले भने, ‘जुन मूल्य सरकारी संस्थान डीडीसीले दिने भन्दा बढी हो ।’
दैनिक २२ हजार लिटरसम्म दूध संकलन हुने डेरीमा अहिले दैनिक ११ हजार लिटर दूध संकलन हुने गरेको पनि उनले बताए । गत साल डेरीले ४२ लाख रुपैयाँ घाटा व्यहोरेको बताउँदै उनले भने, ‘यो आर्थिक वर्षबाट भने सञ्चालन खर्च धान्ने विश्वास लिएका छौं ।’
किसानको पक्षमा बोल्दा जागिर चट्
एनएमसी डेरीको दुध चिस्यान केन्द्र शरणामतीका कर्मचारी चन्द्रप्रकाश दंगाल हाल निलम्बनमा परेका छन् । आफूले किसानलाई दूधको मूल्यमा केही पुनर्विचार गर्न डेरी सञ्चालक समितिलाई आग्रह गर्दा आफ्नो जागिर गएको उनले बताए ।
‘मैले मिल्क होली–डेको विषयसहित किसान मर्कामा परेको कुरा उठाउँदा किसानको पक्षमा होइन, संस्थाको पक्षमा बोल भन्दै संस्थाका हर्ताकर्ताले दबाब दिए’, उनले भने, ‘किसान ठग्न नपाएपछि मलाई जागिरबाट हटाउने योजना सहित निलम्बन गरेका हुन् ।’ संस्थाले आफूलाई स्पष्टीकरण समेत नसोधी १५ दिनका लागि निलम्बन गरेको उनको आरोप छ । एनएमसी केही व्यक्तिहरूको निहित स्वार्थमा चलेको दाबी गदैर् दंगालले आफूलाई किसानले ल्याएको फ्याट र एसएनएफ कम लेख्न डेरी सञ्चालकले दिएको दबाब बारे खुलासा गदैर् भने, ‘कृषकले ल्याएको दूधको मूल्यमा पुनर्विचार गरौं भन्ने मेरो प्रस्तावलाई नै उनीहरूले मलाई जागिरबाट हटाउने मुख्य आधार बनाए ।’ सो सहकारी संस्थाले गरेका गलत कामको पक्षपोषण गरेर अब एनएमसी डेरीको जागिर नखाने उनले सुनाए ।
एनएमसी डेरीका प्रशासकीय अधिकृत नवराज अधिकारीले भने संस्थाको नीति नियम पालना नगरेका कारण शरणामती चिस्यान केन्द्रका कर्मचारी चन्द्रप्रकाश दंगाललाई निलम्बन गरिएको दाबी गरे । उनले भने, ‘मिल्क एनलाइजरमा दूधको फ्याट नाप्दा उनले गलत गरेकाले उनलाई कारवाही गरिएको हो ।’
सञ्चालकले उद्देश्य बिर्सिए
एनएमसी डेरीमा लामो समय काम गरेका प्रविधि विशेषज्ञ श्याम मिश्रले एनएमसीका सञ्चालकले आफ्नै उद्देश्य बिर्सिएको बताए । ‘सञ्चालकले डेरी चलाएको छ भन्ने सन्देश प्रवाह त गरे, तर जुन उद्देश्यले सहकारीले डेरी सञ्चालन गरेको थियो– त्यो पूरा भएन ।’
मिश्र केन्द्रीय प्रविधि क्याम्पस–हात्तिसार, धरानका पूर्व सहायक क्याम्पस प्रमुख र सह–प्राध्यापक हुन् । उनी एनएमसीमा नयाँ ढंगले काम गनेर् सोचले आएका थिए । तर, सञ्चालकहरूले आफ्नो निहित स्वार्थ पूरा नभएपछि गत बैशाखबाट मिश्रलाई पनि डेरीबाट निस्कन बाध्य बनाएका थिए । ‘म स्थायी जागिर छाडेर योजनासहित केही गर्नका लागि गएको थिए’ उनले भने, ‘डेरीले न त किसानलाई राहत दियो, न त कर्मचारी नै सन्तुष्ट भए ।’ सहकारी मार्फत खुलेको एनएमसी डेरीबाट सञ्चालक मात्र मोटाएको बताउँदै उनले भने, ‘मैले मिल्क होली–डे नगरौं भनेपछि नै सञ्चालकहरूसँग खटपट शुरु भयो, उहाँहरूले किसानको समस्या बिर्सनुभयो र चाहिने जति मात्र दूध लिने योजना बनाउनुभयो ।’ एनएमसी सहकारी र डेरी पारिवारिक रूपमा चलाएको मिश्रको बुझाइ छ । सञ्चालकको भिन्न विचार राख्नेहरूलाई अगाडि बढ्न दिनुहुँदैन भन्ने गलत मानसिकता भएको बताउँदै उनले भने, ‘शुरुमा जसरी मसँग कुरा गरेका थिए, पछि त्यो भएन । मलाई भूमिका केही दिएनन् । ६ वर्ष काम गरेपछि नियोजित रूपमा मलाई हटाए ।’ मिश्रले एनएमसी डेरीलाई पारिवारिक सीमित सञ्जालबाट मुक्त नगराएसम्म सही ट्रयाक पक्रन नसक्ने दाबी गरे । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


