
सान नेपाल
गौरादह, १४ भदौ । अमेरिकाबाट भारत हुँदै नेपाल प्रवेश गरेको फौजी किरा गौरादहमा समेत देखा परेको छ । गौरादह वार्ड नं. ६ कोहबराको धान खेतीमा उक्त किरा देखा परेको हो ।
उक्त क्षेत्रमा तिब्रता साथ संख्या विस्तार गरिरहेको फौजी किराले धान बालीमा आक्रमण गर्न शुरु गरेको पाइएको छ । हाल सम्म करिब दुई बिघा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुर्याइसकेकोले फौजी किराको उच्च जोखिम रहेकोे भन्दै समयमै ध्यान पुर्याइदिन कृषकहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यश प्रकारको किरालाइ समयमा निर्मुल नगरे ठूलो क्षति निम्तिन सक्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

के हो फौजी किरा ?
लार्भा बाट बयस्क कीराको रुप लिने यश प्रकारको फौजी किराले धान मकै लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिकहरुले बताउने गरेका छन् ।
मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्याउने गरेको पाइएको छ ।
बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो किरा खाना तथा वासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरि नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको थियो ।
किराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी किराले भविष्यमा बिकाराल रुप लिन सक्ने खतरा रहेको भन्दै विज्ञहरुले सचेत रहन सुझाव दिएका छन् ।
अमेरीका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ । यो कीराले गर्दा सन २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।
सन २०१८ मा भारतको कर्नाटका राज्यमा सो कीरा भेटिएको थियो । तत्पश्चात यस किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ । यसका लागि नेपालमा उक्त कीराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षहरुको बृहत अध्ययन अनुसन्धान समेत गर्नेुपर्ने देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


