
झापा, १७ भदौ । झापा बुद्धशान्ति–६ शान्तिगरका दीलनाथ काफ्लेले २०७१ सालमा पवित्रादेवी कृषिमफर्म दर्ता गरेर व्यावसायिक रुपमा गाईपालन व्यवसाय सुरु गरे । २० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उनको गाई फर्ममा १५÷१६ माउ जर्सी र होलिस्टेन जातका गाई थिए । दैनिक डेढसय लिटरसम्म दूध उत्पादन हुन्थ्यो । काफ्ले परिवारले गाईपालन व्यवसायबाट सुरुका दिनमा राम्रै आम्दानी हुने अनुमान पनि गरेका थिए । तर, पशुपालन व्यवसायलाई मुख्य पेशा बनाएर गाई पालन गर्न थालेका दीलनाथ यो व्यवसाय छोड्ने अवस्थामा पुगेका छन् । उनको गोठमा अहिले तीन माउ मात्र लैना गाई छन्, अरु केही कोरली । दूधको मूल्य अत्यन्तै कम भएका कारण लैना गाई पाल्न जाँगर मरेको उनले बताए ।
बिहान काम गदैर् गर्दा फर्ममा भेटिएका काफ्लेले मेची खबरकर्मीसँगको भेटमा भने, ‘हामीलाई यहाँ घाँसको समस्या छैन, घाँस प्रशस्त हुने भएकाले यो व्यवसाय रोजियो तर घाँस किन्नु नपर्दा पनि एक लिटर दूध उत्पादन गर्न ४५ रुपैयाँ खर्च हुन्छ, दूध ४० रुपैयाँमा बेच्नु पर्छ ।’ वार्षिक दुई लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको बताउँदै उनले निरन्तर घाटा हुन थालेपछि गाई हटाउनुको विकल्प नरहेको सुनाए ।
किसानले पाउने दूधको मूल्यका कारण पशुपालन व्यवसाय टिक्न नसकेको उनले दाबी गरे । नेपाल बहुउद्देश्यीय सहकारीको पूर्ण स्वामित्वमा एनएमसी डेरी सञ्चालनमा ल्याएपछि व्यावसायिक रुपमा गाई पालन गनेर्को संख्या बढेको बताउँदै भने, ‘सुरुमा एनएमसीले प्रोत्साहनसहित आश्वासन देखायो, मूल्य पनि राम्रै थियो, तर दूधको उत्पादन बढेपछि मूल्य घटायो ।’
सुरुमा एनएमसीले फ्याटको ५ रुपैयाँ ४५ पैसा, एसएनएफको २ रुपैयाँ ६५ पैसा र टिएसको २ रुपैयाँ ४० पैसा दिएको उनले बताए । एनएमसी डेरीका सञ्चालकले घरमै आएर आश्वासन दिएको सम्झँदै उनले भने, ‘किसानको दूधको बजार नभएको बेला आएर विश्वस्त पारे, यहीँ चिस्यान केन्द्र राख्ने भने, त्यसपछि गाई पालनमा किसानको आकर्षण बढ्यो ।’ एनएमसीले अहिले शान्तिनगरमा रहेको चिस्यान केन्द्र हटाएको छ । सो ठाउँको दूध अहिले स्थानीय लीला पोखरेलले संकलन गरेर डेरीलाई दिने गरेका छन् ।
एनएमसीले सुरुमा किसानलाई दूधको राम्रो मूल्य दिएको बताउँछन्, शान्तिनगरका अर्का किसान खगेन्द्र पौडेल । ‘एनएमसीले दिएको मूल्य दिन नसकेर सुरुमा यहाँका संकलन केन्द्र र डेरी उठे, उनीहरु उठेपछि एनएमसीले पनि मूल्य घटायो’, उनले भने । अहिले दूधको अभाव भए मूल्य बढाउने, दूधको उत्पादन बढे मूल्य घटाउने गरेको उनले सुनाए । अघिल्ला वर्षहरुमा भएको मिल्क होलिडेको समयमा प्रतिलिटर पाँच रुपैयाँ कम गरेर दूध बेच्नु परेको किसानहरु बताउँछन् ।
अघिल्लो साता बिहान शान्तिगर पुग्दा दूध लिएर चिस्यान केन्द्र आउने किसानहरुको संख्या ठूलो थियो । आफूहरुले पाउने गरेको दूधको मूल्यबाट किसानहरु सन्तुष्ट थिएनन् । तर, त्यहाँ दूध दिनुको विकल्प नरहेको उनीहरुको भनाइ थियो । चिस्यान केन्द्रमा दूध खन्याएर फर्किंदै गरेका किसान दीपक अधिकारीले आफ्नो पासबुक देखाउँदै भने, ‘हेर्नुस् न मेरो दूधको मूल्य ३३ रुपैयाँ रे ।’ उनको गाई ब्याएको एक महिना भयो । दूध संकलकले उनलाई फ्याट र एसएनएफ कम भएको भन्दै ३३ रुपैयाँका दरले दूध खरीद गर्छन् । किसान दूधको मूल्यमा ठगिएको भन्दै उनले भने, ‘फ्याट, एसएनएफ नाप्ने भन्छन्, त्यो कसरी नाप्छन्, के गर्छन्, आफूलाई पत्तो छैन ।’
बाल्टी सुकाएर, गाईको फाँचो कपडाले पुछेर दुहुदा पनि मूल्य नबढेको प्रति आक्रोश व्यक्त गदैर् उनले भने, ‘राज्यले दूधको मूल्य तोक्नु पर्छ, नत्र उत्पादक र उपभोक्ता जहिल्यै मारमा पर्छन्, मुनाफा जति बिचौलियाले खान्छन् ।’ आफूले ३३ रुपैयाँमा बेचेको दूध उपभोक्ता कहाँ पुग्दा ७० रुपैयाँ पनेर् गरेको उनले सुनाए ।
केही वर्षअघि झापामा व्यावसायिक गाई पालन गनेर् होड नै चलेको थियो । अन्य व्यवसायीसमेत गाई पालनमा होमिए । तर, झापामा व्यावसायिक गाई पालन सफल हुन सकेन । एकातिर दानमा आधारित गाई पालन गर्नुपनेर्, अकोर्तिर दूधको मूल्य कम हुने भएका कारण धेरै गाई फर्म टिक्न सकेनन् ।
कनकाई नगरपालिकामा युवा व्यवसायीहरुले सूयोर्दय कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका थिए । करिब ७५ लाख रुपैयाँको लागतमा सुरु भएको फर्ममा अहिले ६ माउ गाई छन् । कुनै बेला फर्ममा १२२ वटासम्म गाई भएको बताउँदै फर्मका सञ्चालक युवा व्यवसायी लीला चिमरिया भन्छन्, ‘व्यावसायिक गाई पालन असफल सावित भएको छ ।’
किसानले अहिलेसम्म फ्याट र एसएनएफको बारेमा नबुझेको दाबी गदैर् चिमरियाले भने, ‘यस्तै अवस्था रहे किसान सकिन्छन्, डेरीवाला मोटाउँछन् ।’ अन्य क्षेत्रमा महँगी बढे पनि दूधको मूल्य नबढेको उनले दाबी गरे । ‘१५ सय रुपैयाँमा पाउने चोकरको मूल्य अहिले २१ पुग्यो, दूधको मूल्य भने तीन÷चार वर्षअघि जुन थियो त्यही छ’, उनले भने ।
एनएमसी डेरी खुलेपछि दूधको उचित मूल्य पाइन्छ भन्ने आसमा रहेका किसान निराश भएको बताउँदै भने, ‘दूध बेचेर खर्च धान्न नसक्ने भएपछि फर्म छोड्नुको विकल्प रहेन ।’ अहिले सूयोर्दय कृषि फर्म हरिन्द्र कार्कीले सञ्चालन गरिरहेका छन् । डेरी उद्योगको नैतिक चरित्र गलत भएका कारण फर्म सञ्चालन गर्न नसकेको कार्कीले बताए । दैनिक ४÷५ सय लिटर दूध बिक्री हुने उक्त फर्ममा अहिले १०÷१५ लिटर दूध छ । ‘गाईलाई खुवाउने दानाको मूल्य प्रतिकेजी ४२ रुपैयाँ पर्छ’, कार्कीले भने, ‘दूध ४० रुपैयाँ लिटर बेच्नु पर्छ ।’ किसानबाट ४० रुपैयाँमा किनेर डेरीवालाले ७० रुपैयाँमा दूध बेच्ने गरेको बताउँदै उनले भने, ‘किसानले उचित मूल्य पाएका छैनन्, उपभोक्ता ठगिएका छन्, बिचौलियाले मुनाफा लिइरहेका छन् ।’ राज्यले मूल्य निर्धारण नगरेसम्म किसानको हित नहुने उनले दाबी गरे । एनएमसी डेरीले पहिला आश्वासन दिए पनि पछि दूध नलिएपछि हिनताबोध भएको उनले बताए ।
किसानले दूधको उचित मूल्य नपाएको बताइरहेका बेला नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा रहेको एनएमसी डेरीले किसानको अहित हुने कुनै पनि गतिविधि नगरेको प्रष्ट पारेको छ । यसै साता बिर्तामोडमा पत्रकार सम्मेलन गदैर् सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले भने, ‘डेरीले मापदण्ड पुगेको दूध खरीद गनेर् हो, मापदण्ड नपुगेको दूध खरीद गरेर डेरीलाई बद्नाम गर्न सकिँदैन ।’ डेरीले किसानबाट खरीद गरिने ४ फ्याट र ८ एसएनएफ भएको दूधमा भदौ १ गतेदेखि लागू हुने गरी २ रुपैयाँ मूल्य बढाएको छ ।
किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरे पनि सरकारले मूल्य नबढाएको अवस्थामा आफ्नो संस्थाले अनुमानित मासिक ८ लाख रुपैयाँ व्ययभार थपिए पनि किसानको हितका लागि मूल्य बढाएको अध्यक्ष उप्रेतीको दाबी छ । उनले यसअघि पनि किसानलाई अन्य डेरीको भन्दा बढी मूल्य एनएमसीले दिइरहेको दाबी गरे । यद्यपि, किसानहरु भने एनएमसीले दूधको उचित मूल्य नदिएको निष्कर्ष सुनाउँछन् । मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


