
झापा, १० साउन । काममा ढिलाइ र ठेकेदारको लापरवाहीले जिल्ला विकासमा छुट्टिएको रकम खर्च हुन सकेको छैन । गत वर्ष एक अर्ब ५० करोड ६० लाख २४ हजार २ सय ८८ रुपैयाँ फ्रिज भएको छ । यो रकम जिल्लामा कुल बजेटको १० दशमलव ३० प्रतिशत हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै पुँजीगततर्फको बजेट खर्च हुन नसकेको हो । कार्यालय प्रमुख लावन्यराज दाहालले जिल्लामा पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३ सय ३२ रुपैयाँ खर्च हुन नसकेको जानकारी दिए । उनका अनुसार पुँजीगततर्फ कुल बजेट ३ अर्ब ४१ करोड ९७ लाख २८ हजार ५ सय ६५ रुपैयाँ थियो ।
जसमध्ये २ अर्ब ७० करोड १३ लाख ७७ हजार २ सय ३२ रुपैयाँ खर्च भएको छ । यसमध्ये झन्डै आधा बजेट १ अर्ब १९ करोड ५८ लाख ६६ हजार ७ सय १३ रुपैयाँ असारमा मात्र खर्च भएको छ । जिल्लामा चालु खर्चतर्फ ७८ करोड ७६ लाख ७२ हजार ९ सय ५६ रुपैयाँ खर्च हुन सकेन । गत आवमा चालु खर्चतर्फ ११ अर्ब १९ करोड ५३ लाख १० हजार २ सय ३४ रुपैयाँको बजेट थियो । यसमध्ये १० अर्ब ४० करोड ७६ लाख ३७ हजार २ सय ७६ रुपैयाँ खर्च भएको छ ।
चालु खर्चतर्फ असार महिनामा मात्र ८७ करोड ४९ लाख १६ हजार ५३ रुपैयाँ खर्च भएको दाहालले जानकारी दिए । जिल्लामा स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७ सय ९९ रुपैयाँको बजेट थियो । यसअन्तर्गत पुँजीगततर्फ ७९ प्रतिशत र चालु खर्चतर्फ ९३ प्रतिशत बजेट खर्च भएको छ । खर्च हुन नसकेकामा सबैभन्दा धेरै विकास निर्माणतर्फको बजेट भएको कार्यालय प्रमुख दाहालले बताए । ‘विकास निर्माणका लागि विनियोजित बजेटै बढी फ्रिज भएको छ,’ उनले भने, ‘विकास निर्माणको काममा ढिलासुस्ती, ठेकेदारको लापरबाहीलगायतका कारणले खर्च गर्न सकिने बजेट पनि खर्च हुन सकेन ।’
उनले गत वर्ष खर्च नभएको बजेट आव ०७५÷७६ मा खर्च गर्न सकिने बताए । उनले भने, ‘गत वर्ष खर्च नभएको बजेट सरकारी खातामा जम्मा भएको छ । यही बजेटलाई ०७५÷७६ मा सरकारले विभिन्न शीर्षकमा खर्च गर्न सक्छ ।’ यसअघि आव ०७३÷७४ मा ७६ करोड ३३ लाख २ हजार ६ सय १५ रुपैयाँ फ्रिज भएको थियो ।
जिल्ला समन्वय समितिले ३१ लाख ३७ हजार ८ सय ३० रुपैयाँ खर्च गर्न सकेन । गत वर्ष जिससको ३ करोड ८० लाख ४३ हजार ६ सय ७० रुपैयाँको बजेट थियो । जिल्लामा स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै गौरादह नगरपालिकाले बजेट खर्च गर्न सकेन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

