
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले आफ्नो पकड गुमाउँदै गएका छन् । केही वर्षयता उनले कुनै पनि ब्लकवस्टर दिन सकेका छैनन् । अमेरिकी म्यागजिन फोर्बसले हालै प्रकाशित गरेको विश्वका १०० सेलिब्रिटीको सूचीमा शाहरुख खान अटाएका छैनन् ।
सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रिटीको सूचीमा बलिउडका अक्षय कुमार र सलमान खान परेका छन् । सलमान खानभन्दा अक्षय कुमार यो सूचीमा अगाडि छन् । धेरै वर्षदेखि शाहरुख फोर्बसको सूचीमा पर्दै आएका थिए । यस पटक उनी बाहिरिँदा अक्षय कुमारलाई ७६औं र सलमान खानलाई ८२औं स्थान प्राप्त भएको छ । सन् २०१७ को सूचीमा शाहरुख खान ६५औं स्थानमा थिए ।
यस पटक अक्षय कुमारले ३।०७ अर्ब भारु कमाई गरेको फोर्बसले जनाएको छ । उनका दुई फिल्म ट्लवाइलेट ः एक प्रेम कथा र प्याडम्यानले राम्रो व्यापार गरेका थिए । फिल्मका अलावा उनले २० ब्रान्डको प्रमोशनबाट पनि कमाई गरेका छन् ।
सलमान खानले २।५७ अर्ब कमाएका छन् । फिल्म ‘टाइगर जिन्दा है’को सफलताले सलमान खानको आम्दानी बढेको हो । यसका साथै उनी कयौं ब्रान्डहरूसँग आवद्ध छन् ।
फोर्बसको सूचीमा नम्बर एकमा अमेरिकी बक्सर फ्लायड मेवेदर छन् । उनको कमाई १९.४९ अर्ब छ । दोस्रो स्थानमा जर्ज क्लूनी, तेस्रोमा काइली जेनर, चौथोमा जुडी सेइन्डलिन तथा पाचौंमा ड्वेन जोन्सन रहेका छन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

