
सान नेपाल
गौरादह, १२ साउन । गौरादह नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को दोश्रो नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा वजेट शुक्रवार सार्वजनिक गरेको छ ।
गौरादह नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रवक्ता नगेन्द्र भण्डारीले कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यस अवसरमा नगरपालिका प्रमुख रोहित कुमार साहले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
गौरादह नगरलाई समृद्ध नगर बनाई विकासको गतिमा अगाडि बढाउन र नगरवासीहरुलाई छिटो छरितो र सहजरुपमा काम गर्ने वातावरण बनाउन नगरपालिका लागि परेको जानकारी गराए । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले आर्थिक कार्यविधी ऐन, सहकारी ऐन र संघसंस्था ऐन बहुमतले पारित गरेपनि गत वर्षको घाटा बजेटका कारण नगरपालिकाको विकास निर्माणमा अवरोध आइपर्ने भएकाले यस वर्ष यसकार्यमा विचार पु¥याईएको बताए ।
गतवर्ष ८२ करोड ७ लाखको वजेट सार्वजनिक गरिएकोमा यस वर्ष करिव ८० करोडको बजेट दोश्रो नगरसभामा सार्वजनिक गरिएको थियो । परिषद् सदस्यहरुद्धारा घाटा बजेट आएकोमा विरोध भएपछि त्यसलाई घटाएर ७४ करोड ९८ लाख ९९ हजारको बजेट सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
नीति कार्यक्रम तथा वजेटमा नगर भित्र रहेका खोलाका पुल सडक कालोपत्रका लागि केन्द्रीय सरकारसँग माग गर्ने र नगरभित्र रहेका लामा दुरिका सडक स्तरोन्नति र ग्रावेल गर्नका लागि प्रदेश सरकारसँग माग गर्ने जानकारी गराए । नगरभित्र रहेका साना तथा ठुला दुरीका सडक, शिक्षणसंस्था, स्वास्थ्य, खानेपानी, विद्युत, सोलारवत्ती विस्तारका लागि नगरपालिकाले लगानी गर्ने जानकारी गराइएको थियो । नगरको प्रत्येक वडामा वार्ड सिलिङ् बजेट विनियोजन गरिएकाले वडाबाट पनि नगरको विकास गरिने जानकारी दिइएको छ ।
नगरपालिकाले नगरको गरु आयोजनाको डिपिआर परामर्शदाता छनौट भई काम शुरु भइसकेकाले आगामी ४ वर्ष भित्रमा नगरको चक्रपथ तयार गर्ने बताए । नगरभित्र वसोवास गर्ने नागरिकहरुको अभिलेख तयार गर्न ६ महिना भित्रमा नगर प्रोफाइल तयार गरी मानव सुचांकका आधारमा आगामी ४ वर्ष भित्रमा लक्षित समुहलाई घरमा टिनको छानाको व्यवस्था गर्ने जानकारी गराइएको थियो ।
नगरपालिकाभित्र सेवाग्राहीलाई सहजरुपमा सेवा दिन टोकन प्रणालीको व्यवस्था र कर्मचारीहरुका लागि ई–हाजिरी प्रणालीको व्यवस्था गर्ने प्रवक्ताको भनाई थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

