
बनियानी (झापा), १२ साउन । जिल्ला ट्राफिक कार्यालय झापाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई १०४ जनालाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्ष २०७५÷०७५ को १० दिनकै छोटो अवधिमा मापसे गरेर सवारी चलाउने १०४ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार मापसे गरेर सवारी चलाउनेहरुबाट रू १ लाख ४ हजार जरिवाना समेत गरिएको छ ।
त्यस्तै, कार्यालय मापसे गरेर सवारी साधन चलाउनेलाई प्रशिक्षण दिन थालेको छ । रातको समयमा मापसे गरेर सवारी साधन चलाउनेलाई कारबाहीसँगै प्रशिक्षण समेत दिन थालिएको प्रमुख राईले जानकारी दिनुभयो ।
‘चालकलाई जरिवाना गरेर मात्र हुँदैन’, उहाँले भन्नुभयो, ‘मापसे गरेर चलाउँदा हुने जोखिमका बारेमा पनि जानकारी दिनुपर्छ, त्यसैले हामीले अहिले अभियानका रुपमै यो कार्य गरिरहेका छौँ ।’
मापसे गरे÷ नगरेको चेकजाँच गर्ने क्रममा झापाको झिलझिले, बिर्तामोड, दमक, चारआली, काँकरभिट्टा, सुरुङ्गा, केर्खा लगायतका स्थानबाट २८ जना चालकलाई नियन्त्रणमा लिएर प्रशिक्षण दिइएको प्रहरीले जनाएको छ ।
झिलझिलेबाट ट्रक ५, कार जीप ४, मोटसाइकल ८ गरी जम्मा १७ जना, बिर्तामोडबाट पिकअप २ र मोटरसाइकल ९ गरी ११ जना कूल २८ वटा सवारी साधनका चालकलाई प्रशिक्षण दिइएको हो ।
झापाको माई पश्चिम ४ र माइ पूर्वको ३ स्थानमा प्रत्येक दिन नियमित रुपमा बेलुका ६ बजेदेखि १०ः३० बजेसम्म चेकजाँच गर्ने गरिएको प्रमुख राईले बताउनुभयो ।
‘चेकिङलाई कडाइ गरिएपछि रातको समयमा मुख्य राजमार्गहरुमा दुर्घटनामा समेत केही कमी आएको छ’, प्रमुख राईले भन्नुभयो, ‘यसलाई अझ प्रभावकारी बनाउने छौँ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

