
काँकडभिट्टा, १३ साउन । झापा कन्काई नगरपालिका ६ दुर्गापुरका गोविन्द कामी (दर्नाल) मेनपावर कम्पनी धाएको ५ वर्ष बित्न लाग्यो । अझै न्याय पाउन सकेका छैनन् । झापा बिर्तामोडको जानकी ओभरसिज नामको मेनपावर कम्पनीले उनलाई दुवई पठाइदिने भन्दै त्यो वेला ८० हजार रुपैयाँ लिएको थियो । तर, विदेश पठाउनुको साटो कम्पनी सञ्चालक नै बेपत्ता भए ।
२०७१ सालतिर उनले दुबईमा चालकका लागि आवेदन दिएका थिए । १ लाख २० हजार रुपैयाँ लाग्ने बताइएको थियो । दुई पटक गरेर उनले ८० हजार तिरेका थिए । पहिला ५० हजार तिरे । पछि ३० हजार । दवै पैसाका भर्पाइ समेत उनले पाएनन् । कम्पनीका प्रमुख प्रदीप राउतले सवै पैसा दिएको भोलिपल्टै भिसा झर्छ भनेछन् । उनले थप रकम जुटाउन श्रीमती गीताको गरगहना बन्धकी राखेछन् । ‘भिसा खसिसक्यो भनेर पैसा माग्यो’, गोविन्दले भने, ‘बुझ्दा त भिसा आएकै रहेनछ ।’
कम्पनीले करिवबदुई तीन महिनासम्म आलटाल ग¥यो । बन्धकी राखेको सुनको व्याज तिर्न गाह्रो भइरहेको थियो । गोविन्द विदेश उड्ने टुंगो अझै लागेको थिएन । यतिकैमा श्रीमती गीताले २०७१ फागुन ९ मा झुन्डिएर आत्महत्या गरिन् ।
झापाको सुनमाइस्थित माइत गरेकै बेला उनले घर नजिकैको जंगलमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । ऋणको व्याज तिर्न गाह्रो थियो । उनको मृत्युको खास कारण यही हो भन्छन् गोविन्द । श्रीमतीको मृत्युपछि गोविन्दको जीवनमा अर्को पीडा थपियो । श्रीमतीको मृत्युअघि पुस १७ गते कम्पनीका प्रतिनिधिले फागुन १५ गतेभित्र ८० हजार रुपैयाँ फिर्ता गर्ने कागज पनि गरे । कागज त गरे तर त्यो कार्यान्वयन हुन सकेन ।
‘पैसा आएपछि ऋण तिर्ने योजनामा थियौं’, गोविन्दले विलौना सुनाए, ‘तर,अचानक श्रीमतीले आत्महत्या गरिन् ।’ कम्पनीले पैसा फिर्ता गर्ने कागज बोकेर उनी अझैसम्म प्रहरी कार्यालयदेखि आप्रवासनसम्बन्धी काम गर्ने संस्थाहरूमा धाइरहेका छन् । तर, न्याय पाउन सकेका छैनन् । एकपटक दुई तीन जना अपरिचित युवाहरूले ‘हामी उठाइदिन्छौं तपाईंको पैसा’ भन्दै ५ हजार असुलेछन् । पछि उनीहरू पनि बेपत्ता भएको गोविन्दले सुनाए ।
वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना झापाका प्रमुख हरि मैनालीले भने, ‘हाम्रो संस्थामा पनि उनले रकम उठाइदिन माग गर्दै उजुरी दिएका थिए’, ‘तर, हामीले पनि उनको रकम उठाउन सकेका छैनौं ।’ अहिले गोविन्द काठ मिस्त्री गर्छन् । विदेश जाने सपना तुहिसकेको छ । लिएको ऋण अझै तिर्न बाँकी छ । साहुको ताकेता आइरहेको छ । जसोतसो मजदुरी गरेर भए पनि ऋण घटाइरहेका छन् । फुर्सद भयो कि दुर्गापुरबाट गाडी चढेर बिर्तामोड आइहाल्छन् ।
मेनपावर कम्पनीको कार्यालय जान्छन् । मेनपावर सञ्चालकलाई पर्खिन्छन् । नआएपछि पुनस् घर फर्कन्छन् । ‘८० हजारका लागि मैले धेरैथोक गुमाइसकेको छु’, उनले भने, ‘बरु ज्यान जाओस् पैसा नअसुली छाड्ने छैन ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

