
बिर्तामोड, १३ साउन । गाउँघरमा भएका झै–झगडाहरु गाउँमै मिलाउन झापाका स्थानीय निकायका न्यायिक समितिका लागि तालिम दिन सुरु गरिएको छ ।
झापामा रहेका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाबाट यस तालिमको सुरुवात गरिएको छ । प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको संयोजन तथा कनकाई नगरपालिकाको आयोजनामा शनिवारदेखि कनकाई नगरका वार्डअध्यक्ष, वार्डपरिषद सदस्य, नगरकार्यसमितिका सदस्य र हरेक वार्डका अग्रज ब्याक्तित्वहरुलाई ८ दिने सामाजिक मेलमिलाप सम्बन्धि तालिम सुरु गरिएको हो ।
यो तालिम पछि नगरमा सबै वार्डमा ७ सदस्यीय सामाजिक मेलमिलाप समिति गठन गरि गाउँमा भएका झैझगडाहरु गाउमै मिलाइने र गाउँमा नमिलेका झगडा नगर कार्यसमितिको न्यायिक समितिमा आइपुग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । नगर न्यायिक समितिमा समेत नमिलेका झगडालाई मात्र सम्बन्धित निकायमा पुर्याइने पोखरेलको भनाई छ । संबैधानिक निकायमै गाउका झगडा गाउँमै मिलाइने प्रावधान रहेकोले समेत मेलमिलाप सहजकर्ताहरुका लागि तालिमको आयोजना गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मन्जु प्रसाइले बताईन् ।
तालिममा नगरका ७० जना जनप्रतिनिधि र अगुवा नागरिकको सहभागिता रहेको छ । तालिमपछि नगरपालिका झैझगडामुक्त नगर हुन मद्धत मिल्ने प्रदेश सभाका सदस्य हिराबहादुर थापाले बताए । तालिमको प्राकृतिक स्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका कार्याकारी निर्देशक चुपबहादुर थापा, केन्द्रकी संगिता थापा, कुमार पौडेल, छत्र पौडेल र दिपक भट्टले सहजिकरण गर्दैछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

