
झापा, १३ मंसिर । झापामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको छ । गत वर्षभन्दा कम क्षेत्रफलमा धान लगाइएको र धानमा फड्के कीरा तथा फौजी कीराको संक्रमण भएसँगै जिल्लामा धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
फड्के कीराको संक्रमणका कारण जिल्लाका विभिन्न स्थानमा लगाइएको २२५ बिघा धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले जानकारी दिए । उनका अनुसार फड्के कीराले क्षति पु¥याएको क्षेत्रमा ९० प्रतिशतसम्म धान उत्पानमा कमी आएको छ । ‘सुरुमै थाहा पाएको भए फड्के कीराको संक्रमण विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्थ्यो’, उनले भने, ‘पछि थाहा भएकाले केही गर्न सकिएन ।’
कार्यालयका अनुसार झापामा ८४ हजार ८७५ हेक्टरमा रोपाइँ भएको थियो भने गत वर्ष झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । यो वर्ष जिल्लामा धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ टन रहेको कृषि प्रसार अधिकृत पौडेलले बताए । गत वर्ष धान उत्पादकत्व प्रतिहेक्टर ५.६ टन रहेको थियो । झापामा यो वर्ष ३ लाख ८१ हजार ९ सय ३८ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ ।
सुरुमा फौजी कीराको समस्या ब्यहोरेका कृषकले पाक्न लागेको धान फड्के कीराले सखाप पारेपछि चिन्तित बनेका छन् । जिल्लामा धान पसाउने बेलामा फौजी कीराको संक्रमण देखिएको थियो । तर, अहिले पाक्ने बेलाको धान फड्के कीराको संक्रमणका कारण खेतमै सुक्न थालेको छ ।
भुसुना जस्तो देखिने कीराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको किसान बताउँछन् । बुद्धशान्ति गाउँपालिकाकी कृषक देवीमाया चापागाईँले भने, ‘अलि अलि दाना भएको काटियो । तर, धेरै धान चाहिँ कीराले बर्बाद बनाइदियो ।’
फड्के कीराको संक्रमण देखिएको स्थानमा कृषि ज्ञान केन्द्र झापाको टोलीले अनुगमन समेत गरेको छ ।
झापाका मेचीनगर, भद्रपुर, हल्दिबारी, बिर्तामोड, गौरीगञ्ज, शिवसताक्षी, बुद्धशान्ति लगायत क्षेत्रका कृषकले लगाएको धानबालीमा फड्के कीराको संक्रमण देखिएको हो । झापाको बुद्धशान्ति र मेचीनगरका कृषकले फड्के कीराले क्षति पु¥याएको धान खेतमा आगोसमेत लगाएका छन् । कीराको संक्रमणबाट फलेको धानमा चामल नभई ‘भुस’ मात्र भएपछि खेतमै आगो लगाउनु पर्दा धेरै नै नोक्सानी भएको बुद्धशान्ति गाउँपालिकाका कृषक सीताराम बाँस्तोलाले बताए । ‘पराल पनि गाईवस्तुले खाँदैन, त्यसैले खेतमै आगो लगायौँ’, उनले भने ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


