
बिर्तामोड, १४ साउन । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कृषक सेयर सदस्यलाई सम्मान गरेको छ ।
कृषि क्षेत्रमा क्रियाशील सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले आज छैटौँ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी २६ जना सेयर सदस्यलाई सम्मान गरेको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार भगीरथ आले लगायतले सदस्यलाई नगद, सम्मानपत्र र कोदालोसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि सिवाकोटीले सहकारीले कृषक सदस्यलाई सम्मान गरे रचनात्मक कार्य गरेको बताए । उनले नगरपालिकाले कृषि क्षेत्रमा विशेष जोड दिएको बताउँदै नगरलाई अग्र्यानिक नगर बनाउने अभियानमा यस प्रकारको कार्यले सहयोग पुग्ने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष ढकालले झापा सहकारीको क्षेत्रमा अब्बल बन्दै गएको बताए । उनले हरेक सहकारीले आफ्ना सदस्यमा वित्तीय पहुँच अभिबृद्धि गर्नमा जोड दिए । ‘सहकारीले कृषकलाई सम्मान गरेर राम्रो कामको सुरुवात गरेको छ’, उनले भने, ‘यसले सदस्यको जीवनस्तर उकास्न सहयोग मिल्छ ।’
त्यस्तै, सम्मानित व्यक्तित्व विदुर तिवारीले संस्थाले गरेको सम्मानबाट आफू खुसीको बताए । उनले भने, ‘हरेक क्षेत्रले कृषिको विकासमा सहयोग गर्नुपर्छ, तब मात्र मुलुक समृद्ध बन्न सक्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापा उपाध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राखेका थिए ।
झापा कार्यक्षेत्र रहेको हाम्रा नेपालले पाँच वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ भने जिल्लाका १५ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गर्ने अनुमति पाएको छ । संस्थामा हाल ४ हजार ५१० सदस्य आबद्ध छन् । त्यसमध्ये १ हजार ५० जनलाई २२ करोड ऋण प्रवाह गरेको छ ।
चार करोड शेयर पुँजी रहेको संस्थाको बचत १७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाका सञ्चालक कृष्ण कटुवालले बताए । संस्थाले विभिन्न संस्थाबाट ४ करोड रुपैयाँ ऋण लिएको कार्यक्रममा जानकारी दिइयो ।
गत वर्ष २० लाख रुपैयाँ नाफा गरेको हाम्रो नेपालले यस वर्ष २६ लाख कमाएको छ । २ करोड २५ लाखको लागतमा बिर्तामोड–७ साढे तीन कठ्ठा खरीद गरेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

