
सान नेपाल
गौरादह, १४ साउन । झापाको गौरादह–५ मा रहेको महारानी झोडा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
जिल्ला खानेपानी कार्यालयको आर्थिक सहयोगमा ४५ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिएको हो । सम्पूर्ण तैयारी पूरा भएकोले अबको केही महिना भित्रमा उपभोक्ताको घरघरमा शुद्ध खानेपानी वितरण गरिने जनाइएको छ ।
हालसम्म ७३३ घरधुरीलाई सदस्यता विस्तार गरिएको तथा ३२ किमी पाइप र मजुवा, डोरामारी, तिसिया, दत्रुचौन, स्वामीचोक, मिलनचोक र चिउरामिल चोक लगायतका स्थान सम्म जडान गरिएको छ ।
करिब २१ लाख २५ हजारको जनसहभागिता बाट पाइप जडान कार्य भएको हो । पाइप बिस्तार कार्यको लागि प्रत्येक सदस्य बाट पहिलो चरणमा ३ हजारका दरले नगद संकलन गरिएको र आवश्यकता अनुसार दोश्रो चरणमा थप २ हजार बुझाउनु पर्ने सहमति गरिएको महारानी झोडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कपिलमणी काफ्ले बताउँछन् ।
आगामी असोज–कात्तिकदेखि पानी वितरण गर्ने बताइए पनि खानेपानी वितरणमा निकै ढिलासुस्ती भएको स्थानीयको गुनासो छ । ‘२ वर्ष अगाडि समितिका सदस्यले पैसा उठाएर लगे, अहिलेसम्म कुनै खबर छैन’, मिलनचोक घर भएका सुमित भण्डारी भने ।
समितिलेले अहिलेसम्म साधारणसभा समेत बोलाउन नसकेको उपसमितिका संयोजक प्रभुराम गौतम बताउँछन् । गौतमको क्षेत्र मिलनचोक पर्छ । उनले मिलनचोक, किस्तिचौन एरियाबाट करिब १ लाख २५ हजार रुपैयाँ उठाएको र स्थानीय सहकारीमा रहेको आफ्नै खातामा पैसा जम्मा गरेको बताए ।
अहिलेसम्म कुनै बैंकमा खाता नखोलेको अध्यक्ष काफ्ले स्वीकार गर्छन् । ‘हामीले अहिलेसम्म कुनै बैंक खाता खोलेका छैनौं, यसको कुनै आवश्यकता महसुस गरिएन’, काफ्लेले भने । सहकारीमा पैसा जम्मा गरेको विषयमा खण्डन गर्दै काफ्लेले भने, ‘यस बारेमा मलाई केही थाहा छैन ।’
काफ्ले २०७३ असोजमा गठन भएको तदर्थ समितिका अध्यक्ष हुन् । उनको कार्यकाल भन्दा अगाडि गणेश कार्की, रमेश खरेल र जगन्नाथ खनाल तदर्थ समितिको अध्यक्ष बनिसकेका छन् । राजनीतिक भागबन्डा नमिल्दा बारम्बार समिति फेरबदल हुने गरेको र त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न गएको छ ।
महारानी झोडामा मात्र ३ वटा खानेपानी उपभोक्ता समिति रहेका छन् । चान्दु सिमसार क्षेत्र र वार्ड नं. ४, ६ लाई लक्षित गरि डोरामारीमा पनि खानेपानी ट्यांकी निर्माण भइरहेको छ । तीन वटै क्षेत्रमा अलग अलग उपभोक्ता समिति रहेका छन् ।
नगरपालिका घोषणा भए पश्चात् खानेपानी उपभोक्ता समितिहरु एकीकृत हुनुपर्ने र सिंगो नगरको बलियो समिति मार्फत कार्य अगाडि बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

