
झापा, ८ माघ । विदेशसहित पश्चिम नेपालमा व्यवसायिक रुपमा हुँदै आएको ड्रागन फल खेती झापामा पनि शुरु गरिएको छ ।
बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले ड्रागन फल खेती शुरु गरेका हुन् । उनले सुपारी बगानभित्र यसको खेती गरेका छन् । सुपारी बगानभित्रै अलंैचीको समेत व्यवसायिक खेती गर्दै आएका उप्रेतीले विगत तीन वर्षदेखि ड्रागन खेती गर्दै आएका हुन् । ड्रागन ‘क्याक्टस’ अर्थात सिउँडी प्रजातिमा पर्ने वनस्पति हो । यसलाई ‘रातकी रानी’ उपनामले समेत चिन्ने गरिन्छ ।
ड्रागन एक प्रकारको फल हो । गर्मी ठाउँमा खेती गर्न सकिने ड्रागन फलमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण हुने यो फललाई गमला, छत तथा करेसावारीमा लगाउन सकिने उप्रेतीले बताए ।
राति मात्रै फुल्ने र फल लाग्ने भएकाले यसलाई रातकी रानी भनिने गरेको उप्रेतीको भनाई छ । फूल फुलेको ४५ दिनसम्ममा फल तयार हुने उप्रेतीले बताए । एउटा फल एकदेखि डेढ केजीसम्मको हुने गरेको बताइएको छ ।
उप्रेतीले तीन वर्ष अघि लगाएका विरुवाले अहिले फल दिन शुरु गरेको छ । एउटै बोटमा यो वर्ष ड्रागन फल सात आठ केजीसम्म फलेकमृ भन्दै कृषक उप्रेतीले ड्रागनको खेती गर्दा मनग्यै आम्दानी हुने गरेको बताए । एउटै बोटमा ५०÷६० केजीसम्म फल लाग्ने बताउँदै उप्रेतीले भने– ‘राम्रो मलजल पुग्यो भने एउटै बोटले २० वर्षसम्म फल दिन्छ ।’
आफूले उत्पादन गरेको ड्रागन स्थानीय बजारमै बिक्री हुने गरेको र यसवाट सन्तुष्ट समेत भएको उनले सुनाए । यसवर्ष खेती विस्तारका लागि आफूले विरुवा समेत उत्पादन गरेको भन्दै उप्रेतीले भने, –‘यो वर्ष एक हजार रुपैयाँ प्रति केजी ड्रागन बिक्री हुने अनुमान गरेको छु ।’ ड्रागन फल दक्षिण अमेरिकाको रैथाने फल हो भने यो फलको खेती थाइल्याण्ड, भियतनाम, मलेसिया, इण्डोनेसियामा धेरै हुने गरेको बताइन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


