कृषि विशेष स्थानीय खबर

अर्जुनधारा-३ मा अब बाख्रा पकेट क्षेत्र

अर्जुनधारा, १८ माघ । अर्जुनधारा नगरपालिकाले यस वर्षदेखि विपन्न समुदायको बसोबास रहेको क्षेत्र ३ नम्बर वडाको भित्री गाउँमा बाख्रा पकेट क्षेत्रको रुपमा प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

चालु आर्थिक वर्ष ०७६÷०७७ बाट बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरकै दुर्गम र विपन्न समुदायहरुको बसोबास रहेको अर्जुनधारा–३ स्थित भित्री गाउँका बासिन्दाको आर्थिक स्तर उकास्ने उद्देश्यले बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम ल्याइएको हो ।

व्यावसायिक बाख्रापालनको माध्यमबाट उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखामार्फत् कार्यक्रम सञ्चालन हुने नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।

शाखा प्रमुख पदमलाल राईका अनुसार सोही कार्यक्रमअन्र्तगत गत माघ ८ गते वडाध्यक्ष जीवकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न बाख्रापालक कृषकहरुको भेलाले अनुपा मग्रातीको अध्यक्षतामा नौ सदस्यीय भित्री गाँउ नयाँ बाख्रा पालक कृषक समूह गठन गरेकोे छ ।

२० घरधुरीलाई लक्षित गर्दै सुरु गरिएको भए पनि उक्त कार्यक्रमबाट २८ घरधुरीका बाख्रापालक कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रम सञ्चालन गर्न नगरपालिकाबाट ११ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

कार्यक्रम अन्र्तगत शाखाले समूहलाई बाख्रापालनसम्बन्धी तालिम, खोर निर्माण र घाँसको बीऊ वितरण, न्यूनतम ३ देखि ४ वटा बाख्रा वितरण, जुका नाम्लेको औषधि तथा पीपीआर रोगविरुद्धको खोप वितरण, पोषण तत्व वितरण, अन्तरक्रियासँगै अनुगमन तथा मूल्याङ्कनलगायत सञ्चालन गरिने बताइएको छ ।

यसैबीच कार्यक्रमको पहिलो चरणमा शुक्रबार आयोजित तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रमुख आचार्यले विशेष कार्यक्रमार्फत् सञ्चालन भएको उक्त कार्यक्रम सफल भएको खण्डमा वडाभर विस्तार गरिने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यसैगरी नगरपालिकाकी आर्थिक समिति संयोजक दिलमाया दासले व्यावसासियक कृषि र पशुपालनको माध्यमबाट आर्थिक समृद्धि सम्भव हुने हुँदा नगरको उद्देश्यअनुरुप किसानले पनि लाग्नुपर्ने बताइन् ।
समूहकी अध्यक्ष मग्रातीले परम्परागतरुपमा गरिँदै आएको बाख्रापालन भन्दा फरक हुने रहेछ भन्ने तालिमबाट ज्ञान आर्जन गरेको बताइन् । तालिमले बाख्रापालनलाई व्यावसायिक बनाउनमात्र नभइ आर्थिक स्तर बृद्धिमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा समूहका सचिव कृष्ण न्यौपानेले सहभागी सदस्यहरुको लागि आयोजित उक्त तालिम फलदायी भएको प्रतिक्रिया दिए ।

Facebook Comments