
सन्तोष शर्मा
बिर्तामोड, २२ फागुन । झापाको बिर्तामोड–१० का राजेन्द्र कडरियाले विगत आठ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनी बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख हुन् ।
तरकारी खेतीबाटै उनले मनग्ये आम्दनी गरिरहेका छन् । मौसमीभन्दा पनि बेमौसमी तरकारी खेतीबाट कृषकले राम्रो लाभ लिन सक्ने उनी बताउँछन् । तरकारी खेतीबाट आफूले वार्षिक आठ लाख रुपैयाँ आम्दानी गनेर् गरेको उनले बताए ।
कृषि विषय अध्ययन गरेका कडरियाले झापामा पहिलो पटक टर्कीबाट ‘पार्थिनोकार्पी’ जातको काँक्राको बिउ ल्याएर बेमौसमी काँक्राखेती थालेका छन् । ‘ग्रीन हाउस’ भित्र एक कठ्ठा जग्गामा एक हजार काँक्राका बिरुवा लगाइएको छ । ‘यो काँक्राको बिउ टर्कीबाट ल्याइएको हो, एउटा बिउको १२ रुपैयाँ पर्छ’, उनले भने, ‘यो काँक्रा खाँदा स्वादिलो हुनुका साथै भित्र दाना हुँदैन ।’ झापामा आफूले पहिलो पटक यो जातको काँक्राखेती गरेको उनको भनाइ छ ।
काँक्रा करिब ४५÷५० दिनमा उत्पादन हुने उनले बताए । एउटा बोटमा ७ देखि १० केजीसम्म उत्पादन हुने र एउटा काँक्राको तौला २०० ग्रामसम्म हुने कडरिया बताउँछन् । झुप्पोमा फल्ने र स्वपरागसेचित हुनु यो काँक्राको विशेषता हो । ‘यसमा ‘मेल–फिमेल’ एउटै हुन्छ’, काँक्राको विशेषता सुनाउँदै उनले भने, ‘एउटै लहरामा फल्छ ।’ सिँचाइका लागि थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको छ ।
हाल यो जातको काँक्राको खेती चितवन र काठमाडौँमा हुँदै आएको छ । विषादीरहित तरकारी खेती गदैर् आएका कडरियाले यो पटक पाँच हजार केजी काँक्रा उत्पादन गरेर खर्च कटाएर डेढ लाख रुपैयाँ आम्दानी गनेर् लक्ष्य लिएका छन् ।
कडरियाले काँक्रासँगै तीन कठ्ठामा क्याप्सिकन खेती गरेका छन् । करिब ६० हजार रुपैयाँ लगानी गरेर सुरु गरिएको क्याप्सिकनको लागत उठिसकेको उनले बताए । ‘खेती गर्दाको खर्च उठिसकेको छ’, उनले भने, ‘अझै ११ क्वीन्टल उत्पादन हुन्छ, त्यो सबै नाफा हो ।’ हाल खेतबाटै व्यापारीले प्रतिकेजी ६० रुपैयाँमा क्याप्सिकन खरीद गरेर लाने गरेका छन् ।
कृषि क्षेत्रमा अथाह सम्भवाना रहेकाले विधि र प्रविधिको प्रयोग गरेर खेती गर्न उनी कृषकहरुलाई सुझाव दिन्छन् । ‘मौसमीभन्दा पनि बेमौसमी खेतीबाट बढी लाभ लिन सकिन्छ’, उनले भने, ‘कसरी बढी प्रतिफल हात पार्न सकिन्न भन्नेतिर पनि किसानले ध्यान दिनुपर्छ ।’
कडरियाले व्यक्तिगत १० कठ्ठा र थप केही जग्गा भाडामा लिएर तरकारी खेती गदैर् आएका छन् । बेमौसमी तरकारी खेतीका लागि पाँच वर्षअघि तत्कालीन जिल्ला कृषि कार्यालय झापाले ९ लाख रुपैयाँको लागतमा ‘ग्रीन हाउस’ बनाइदिएको छ भने मलका लागि गड्यौला मल उत्पादन गदैर् आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


