
सन्तोष शर्मा
बिर्तामोड, १६ चैत । झापाको बिर्तामोड नगरपालिकाले आजदेखि घर–घर विषादीरहित सागसब्जी पु¥याउन शुरु गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि सागसब्जीको अभाव हुन नदिन नगरपालिकाले ‘मेयर विषादीमुक्त कार्यक्रम’ अन्तरगत कृषकले उत्पादन गरेका सागसब्जी घर–घरमा पु¥याउन शुरु गरेको हो ।
कृषकको घरमै गएर तरकारी किनेर उपभोक्ताको घर–घरमा प¥याउन शुरु गरिएको नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिनुभयो । ‘नगरपालिकाले विषादीरहित उत्पादनका लागि प्रबद्र्धन गरेका कृषकको घर–घरमा गएर तरकारी संकलन गर्न थालेका छौँ’, उहाँले भन्नुभयो, ‘सहज र सस्तो मूल्यमा नगरबासीको घर–घरमा आजदेखि पु¥याउन थालेका हौँ ।’
कृषकसँगको खरीद मूल्यमा रू पाँच/सात थप गरेर बिक्री गर्न थालिएको उहाँले बताउनुभयो । आज बिहान कृषकले उत्पादन गरेका फर्सी प्रतिगोटा रू ५०, फर्सीको मुन्टा प्रतिमुठ्ठा रू ४० र रू ६०, धनिया प्रतिमुठा रू १०, क्याप्सिकन प्रतिकेजी रू ८०, टमाटर रू ६०, काँक्रा रू ४०, लट्टे साग प्रतिमुठ्ठा रू २०, कटहर प्रतिगोटा रू ३० र लौका प्रतिगोटा रू १५ देखि रू ५० सम्ममा बिक्री गरिएको अधिकृत कडरियाले जानकारी दिनुभयो ।

अभावका बेला कृषकको उत्पादनको प्रबद्र्धन र नगरबासीलाई सहज र सस्तोमा सागसब्जी उपलब्ध गराउन नगरपालिकाले काम थालेको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । ‘लकडानका कारण हाटबजार लागेको छैन, बजारमा सागसब्जीको अभाव छ’, उहाँले भन्नुभयो, ‘घर–घरमा सागसब्जी पु¥याएर नगरबासीलाई सुविधा र भीडभाड हुन नदिने सोचका साथ काम थालिएको हो ।’
आज एउटा गाडीमा सागसब्जी राखेर बिक्री शुरु गरिए पनि गाडी थप्दै लगिने नगरपालिकाले जनाएको छ । १० वटा वडा रहेको नगरपालिका आज दुई वटा वडाका कृषकले उत्पादन गरेको सागसब्जी संकलन गरिएको थियो । दिनैपिच्छे अर्को–अर्को वडाबाट सागसब्जी संकलन गरिने भएको छ ।
संकटको यो अवस्थामा बजारमा सागसब्जीको अभावसँगै मूल्य आकाशिएको छ । यस्तो परिस्थितिमा नगरपालिकाको यस्तो कार्यले नगरबासीमा राहत मिल्ने बिर्तामोड–५ का मुकुन्द ढकालले बताउनुभयो । ‘हिजोसम्म ३० रुपैयाँ किलो पाइने आलु अहिले ६० रुपैयाँ पुगेको छ, अर्को कुरा सब्जी नै पाउने अवस्था छैन, बाहिर निस्किन पनि समस्या छ’, उहाँले भन्नुभयो, ‘अभावका बेलामा नगरपालिकाले चालेको कदम स्वागतयोग्य छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


