
सन्तोष शर्मा
बनियानी, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरुको अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी बन्न थालेको छ ।
झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ) पनि करेसाबारी स्याहार्दै हुनुहुन्छ । करेसाबारीमा गोडमेल गर्दै गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरसबाट बच्न घरमै बसेर लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
रासससँग कुरा गर्दै उहाँले व्यावसायिक रुपमा खेती गर्न नसकिए पनि आत्मनिर्भर (आफूलाई मात्र भए पनि खान पुग्ने) खेती हरेक नेपालीले गर्न आवश्यक रहेको औँल्याउनुभयो । ‘हरेक घरमा ‘किचन गार्डेन’ हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘जसले परनिर्भरता हटाउँछ, आत्मनिर्भर बन्न सहयोग पुग्छ ।’

फुर्सदिलो समयको सदुपयोग हुनुका साथै दैनिक आवश्यक पर्ने तरकारी पनि उत्पादन हुने भएकाले अहिले अधिकांश मानिस करेसाबारीमा व्यस्त देखिन थालेका छन् । झापा भद्रपुर–७ का आदित्य पौडेलले लकडाउनको समयमा विभिन्न प्रकारको सागसब्जी लगाएको सुनाउनुभयो ।
‘अरु काम केही छैन, बाहिर निस्कन मिल्दैन’, उहाँले भन्नुभयो, ‘घरमा बसेर समय बिताउनुभन्दा केही सागसब्जी लगाउन थालेको छु ।’ उहाँले बारीमा फर्सी, साग, भिण्डी, धनिया लगायतका सागसब्जी लगाउनुभएको छ ।
उहाँजस्तै, भद्रपुर दीप लिम्बू पनि करेसाबारीमै व्यस्त हुनुहुन्छन् । ‘अरु बेला कामले केही गर्न भ्याइँदैन, अहिले फुर्सद छ’, उहाँले भन्नुभयो, ‘जसले लकडाउनको पनि पालना हुन्छ, समयको सदुपयोग पनि ।’
कनकाई नगरपालिका–३ का पत्रकार लीलाराज झापालीले समाचार लेखनसँगै लकडाउनको समयमा करेसाबारीलाई थप व्यवस्थित बनाएको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘अहिले करेसाबारीकै तरकारीले भान्सा चलेको छ, बाहिरको तरकारी किन्नु परेको छैन ।’
करेसाबारीमा उत्पादन गरिएको तरकारी विषादीरहित हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण हुन्छ । भद्रपुर–१० निवासी कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख शालिकराम भट्टराई गाउँघरमा धेरै मानिस सक्रिय भएर खेतीपातिमा लागेको बताउनुहुन्छ ।
‘मेरै छिमेकमा पनि धेरै मानिसले करेसाबारीमा विभिन्न प्रकारका सागसब्जी लगाइरहेको देखिरहेको छु’, उहाँले भन्नुभयो, ‘यो एउटा सकारात्मक कुरा हो ।’ घरमै चाहिने सागसब्जी आफैँ उत्पादन गर्न सके पैसाको बचतसँगै शारीरिक व्यायाम पनि हुने उहाँको भनाइ छ ।
मानिसमा सचेतना बढेसँगै स्थानीय स्तरमा उत्पादित तरकारीको खपत बढेको छ र भारतबाट आयात गरिएका तरकारी कम रुचाउने गरेको उहाँको अनुभव छ । अहिलेको सिजन अनुसार भिन्डी, फर्सी, लौका लगायतका तरकारी लगाउन उपयुक्त हुने उहाँले बताउनुभयो ।
अहिले लकडाउनका बेला बिउबिजनका पसल अत्यावश्यक वस्तुको रुपमा बेला–बेलामा खोल्न दिइनुपर्ने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘मानिसले धमाधम खेत तयार पारे तर बिउ पाइएन भने त्यसको कुनै अर्थ हुँदैन ।’ मल र बिउ सहज रुपमा पाइने वातावरण सिर्जना गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
अहिले धेरै मानिस करेसाबारी बनाउन लागेका छन् । यसलाई लकडाउनको एउटा सकारात्मक पाटोका रुपमा लिन सकिन्छ । संकट जति बेला पनि आउन सक्छ र आफूलाई चाहिने सागसब्जी आफैँ उत्पादन गर्नुपर्ने रहेछ भन्ने चेत पलाउँदै गएको छ, यो एउटा सकारात्मक पक्ष हो । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


