मनोरञ्जन

सुहाना खानको फोटोले पायो तालीभन्दा बढी गाली

add

भोग इन्डियाले यो पटक आफ्नो कभरमा बलिउड सुपरस्टार शाहरुख खानकी १८ वर्षीया छोरी सुहाना खानको फोटो छापेको छ ।

तर यसपटकको भोगको कभरको प्रशंसा भन्दा पनि आलोचना बढी हुन थालेको छ । भोग म्यागेजिनमा कभर गर्ल बन्ने सुहाना खानको हैसियत नै नभएको भन्दै सामाजिक सञ्जालमा निकै नै आलोचना भएको छ । प्रतिष्ठित म्यागेजिन भोगको कभरमा सामान्यतया टप मोडल, अभिनेत्री, तथा गायिकालाई स्थान दिइन्छ । तर सुहाना खानले आफैलाई ‘विद्यार्थी, सिनेमा मन पराउने तथा भविष्यको स्टार’ का रुपमा चिनाउँछिन् ।

उनका बुवा शाहरुख बलिउडका किङ भनेर चिनिन्छन् र धेरैले बुवाकै कारण सुहानालाई भोगको कभर गर्ल बनाएको बन्दै परिवारवाद हावी भएको आरोप लगाएका छन् । सुहानाको फेशन सुटको डिजाइन भोगकी फेशन डिजाइनर तथा शाहरुखकी साथी अनाइता श्रफ अदाजानिआले गरेकी हुन् । सुहानाको यो नै पहिलो फोटो शूट तथा अन्तर्वार्ता हो ।

यसबारेमा आपत्ति जनाउनेहरुमा धेरै संघर्ष गरिरहेका अभिनेत्रीहरु छन् । श्रुति टण्डन ट्वीटमा लेख्छिन्, ‘अस्तित्वमा नहुनुपर्ने केही कुराहरुमध्ये नातावाद एक हो । थुप्रै कलाकारहरु हुँदाहुँदै सेलिब्रिटीको सन्तान भोगको कभरमा । एउटै चलचित्र नखेली बाबु स्टार भएको आधारमा भोगको कभरमा हुनु स्वीकार्य छैन ।’

सृष्टि लेख्छिन्, ‘सेलिब्रिटीको आलोचनामा खासैविश्वास छैन, तर सुहाना खान किन भोगको कभरमा ? यो त सेलिब्रिटीको आलोचना पनि होइन किनकि उनका पिता सेलिब्रिटी हुन्, उनी होइनन् । मेरा पिता लेखापाल हुनुहुन्छ, के आईसीएआईले उसको कभरमा मेरो फोटो छाप्छ ?’

स्ट्याण्डअप कमेडियन अपूर्व गुप्ता ठट्यौली पारामा लेख्छन्, ‘सुहाना खान हुनुको संघर्ष ः

१– समुद्रतिर फर्केको बंगलामा बस्ने भएकाले समुद्रतटको बिदा मनउने कार्यक्रम उनका लागि रमाइलो विषय होइन

२‍– अति धनाढ्य भएकाले कुन रोलेक्स घडी लगाउने भन्ने निर्णय गर्न गाह्रो छ

३– १८ वर्षको हुँदा पनि करण जोहरले फिल्ममा लञ्च गर्दैनन् ’

संघर्षरत कलाकार भूमिका छेदी गुनासो गर्छिन्, ‘म एउटा संघर्षरत कलाकार हुँ र म तथा म जस्ता अन्य संघर्षरत कलाकारहरु सुहाना खानलाई भोगको कभरमा देख्दा कन्पारो तात्नुको कारण म बताउँछु तर त्यसभन्दा अगाडि म भन्न चाहन्छु कि मैले केही श्रृंखला, ३ ओटा डिजिटल विज्ञापन र दूरदर्शन १ को एउटा कार्यक्रममा अभिनय गरिसकेकी छु ।’

Facebook Comments