प्रवास समाज

आममाफीमा सहभागी हुने नेपालका लागि दुतावासको घुम्ति शिविर

रुपेश अधिकारी
युएई, २३ साउन । आममाफी प्रक्रियामा सहभागी हुने नेपालीहरुको सहजताका लागि नेपाली दूताबास अबुधाबीले सक्रियता बढाएको छ।

दूताबासले मंगलबारदेखि युएईका विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत गैरकानूनी रुपमा रहेका नेपालीका लागि कानूनी तथा परामर्श सेवा दिने छ।

शिविर अबुधाबीको अलसामा एम्नेस्टी सेन्टर, दुबईको अलअविर इमिग्रेशन र शारजाहको शारजाह इमिग्रेशनबाट बिहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालन हुने दूताबासले जनाएको छ। शिविर सञ्चालन भएको स्थानबाट ट्राभल डकुमेन्ट तत्काल उपलब्ध गराइने छ।

यस्तै राहदानी बनाउनु पर्ने स्थितिमा दूताबासमा पुगेर सेवा लिन सहजीकरण गरिने कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले बताए। कार्यवाहक राजदूत फुयाँलको नेतृत्वमा दूताबासको टोलीले उक्त स्थानबाट घुम्ती सेवा प्रदान गर्नेछ।

शिविरमा दूताबासबाट एकजना र एनआरएनको एकजना प्रतिनिधि रहनेछन्। गैरकानूनी रुपमा यहाँ बसोबास गरिरहेका नेपालीलाई तीन महिनाको आममाफीमार्फत स्वदेश फर्कन दिइएको समयभित्रै उनीहरुलाई स्वदेश फर्काउन दूताबासले सहजीकरण गरेको हो।

कतिपय विषयमा दुविधा भए तत्काल यहाँको स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने कार्यवाहक राजदूत फुँयालले बताए। सेवाग्राहीको उपस्थिति र आवश्यकता अनुसार शिविर सञ्चालनको अवधि निर्धारण हुनेछ

Facebook Comments