
लक्ष्मीपुर, २४ जेठ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले व्यावसायिक बाख्रापालक ३५ जना सदस्यलाई निःशुल्क घाँसको बिउ उपलब्ध गराएको छ ।
शनिबार लक्ष्मीपुरमा बाख्रापालक कृषकलाई दुई केजीका दरले ‘टियोसेन्टी’ घाँसको बिउ उपलब्ध गराइएको हो । लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा बिउ वितरण भएको थियो ।
संस्थाका पशुचिकित्सक कमलेश्वर भाटले वर्षायाममा उत्पादन गर्ने घाँसका विषयमा जानकारी दिएका थिए । उनले बाख्रामा लाग्ने रोग र रोकथामका उपाय समेत बताएका थिए ।
उनले संस्थाले झापाका २० वटा सेवा केन्द्रमार्फत करिव ४ सय जनालाई सुडान दुईसय केजी र टियोसेन्टी छ सय केजी गरी आठ सय केजी घाँसको बिउ निःशुल्क वितरण गर्ने जानकारी दिए । उनले कृषकलाई संस्थाको पेजमा गएर समेत कृषि तथा पशुपालनका विषयमा जानकारी लिन सकिने बताएका थिए ।
त्यसैगरी संस्थाको लक्ष्मीपुर सेवा केन्द्रबाट ६५ जनालाई अर्गानिक वेमौसमी तरकारी उत्पादनका लागि टनेल, प्लाष्ट्रिक, बाँस, बिउ विरुवा उपलब्ध गराउने उनले बताए । उनले तीनसय जना मध्ये २ सयलाई यसअघि नै दिएको बताउदै एकसय जनालाई टनेल, प्लाष्ट्रिक, वास, विउ विरुवा उपलब्ध गराउने कार्यक्रम अन्र्तगत लक्ष्मीपुर सेवा केन्द्रमा ६५ जनालाई वितरण गरिने बताए ।
लक्ष्मीपुर सेवा केन्द्रले लकडाउन अघि ३५ जनालाई बाख्रापालन सम्बन्धी तालिम समेत दिइसकेको कर्मचारी खगेन्द्र निरौलाले बताए । कार्यक्रमको सञ्चालन संस्थाका कृषि प्राविधिक लक्ष्मी भण्डारीले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



