
मंगलवारे, १७ साउन । कुनै बेला रू १ लाख प्रतिमन बिक्री भएको अलैंचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन रू। १ लाख ३० हजारले विक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो ।
देशमा नै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैंची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ ।
अलैंचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैंची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । खोला, खोल्सामा उत्पादन हुने अलैंचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैंची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा विकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।
दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैंचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए । उनको बगानमा अलैंची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको छ ।
विश्व बजारमा सुनको भाउ बढ्दा अलैंचीको भाउ पनि बढ्ने गरेको थियो । हाल रू २० देखि २२ हजारसम्म प्रतिमन अलैंची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।
साउन अन्तिमदेखि अलैंचीको याम शुरु हुन्छ । तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैंची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैंची टिप्ने गरिन्छ । पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची लाएका छन् ।
निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताए । भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि एकाएक गर्दै बर्सेनी भाउ ओरालो लागेपछि चिन्ता छाएको किसानको भनाइ छ ।
भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन् । किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैंची टाढा–टाढाबाट खरीद गरिल्याएका थिए । प्रतिसरा रू। १० देखि १५ का दरले किनेर रोपेको अलैंची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छोडेको किसानको भनाइ छ ।
वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैंचीले नै पुग्ने गरेको भए पनि हाल छ मन बेच्दा पनि छ वर्ष अघिको एक मन अलैंचीको दाम नभेटाइने गरेको किसानको भनाइ छ । सरकारले पनि अलैंची किसानलाई सिंचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुपर्ने किसानको भनाइ छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



