
विराटनगर, २३ साउन । प्रदेश नं १ मा यस वर्षको साउन तेस्रो सातासम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँ बढेको निर्देशनालयले बताएको छ ।
निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमध्ये २२ हजार ९८३ हेक्टर क्षेत्रफलमा अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमीनमध्ये ८२ हजार २४ हेक्टर क्षेत्रफलमा अर्थात् ९० प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी २ लाख २५ हजार ८०० हेक्टर जमिनमध्ये २ लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात् ९५ प्रतिशत धान रोपाइँ भइसकेको छ ।
रोपाइँको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । सबैभन्दा बढी रोपाइँ ओखलुढुंगा र सोलुखुम्बुमा क्रमशः ४ हजार ४०३ हेक्टर र १ हजार ५२५ हेक्टर जमिनमा भएको पाइएको छ, जुन शतप्रतिशत हो ।
भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए । मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नुपरेको छैन भने यसको क्षेत्र अझ बढ्ने उनले बताए । असार १५ गतेसम्ममा २२ प्रतिशत मात्र रोपाइँ भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकूलताले धान रोपाइँको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाइँ बढ्ने निर्देशनालयको अनुमान छ ।
यस्तै अहिले धानमा गवारो र ब्लाष्ट (डडुवा) रोगको पनि प्रकोप बढेकाले किसानले समयमै रोग र कीराको व्यवस्थापन गर्न सके विगत केही वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । धान रोपाइँको स्थिति हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘धान उत्पादन वृद्धि, आत्मनिर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताए । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



