
सन्तोष शर्मा
बिर्तामोड, १२ असोज । वर्षाका कारण झापामा तरकारी खेतीमा क्षति पु¥याएको छ । व्यावसायिक एवम् घरेलु प्रयोजनका लागि कृषकले लगाएको तरकारी खेतीमा वर्षाले क्षति पु¥याएको छ ।
वर्षाका कारण अर्जुनधारा–११ का किसान त्रिलोचन खतिवडाले लगाएको रायो साग, भिण्डी, बन्दाकोभी नष्ट भएको छ । उहाँले भन्नुभयो, “वर्षाले केही राखेन, उम्रेको बिऊ पनि सखाप भयो ।”
व्यावसायिक नभए पनि घरासयी प्रयोजनका लागि लगाइएका तरकारी पनि वर्षाका कारण हुन सकेन । “दुई÷तीन पटक बिऊ लगाएँ, उम्रिने बेलामा पानी परेर बिऊ हुर्किनै पाएन”, भद्रपुर–६ का मनोज पौडेलले भन्नुभयो, “यतिबेला साग खाने बेला भइसक्थ्यो ।”
वर्षाका कारण किसानले तरकारी बाली लगाउन नपाउँदा खेतीको समयसमेत एक महिनापछि धकेलिएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताउनुभयो । जसका कारण तरकारी उत्पादनमा समेत कमी आउने उहाँको भनाइ छ ।
“वर्षाले गर्दा किसानले खेती लगाउन पाएनन्, लगाएकाले पनि नोक्सानी व्यहोर्नु प¥यो”, उहाँले भन्नुभयो, “अब चिसो मौसम शुरु हुन्छ, चिसो मौसममा उत्पादनमा पनि कमी आउँछ ।”
घरासयी प्रयोजनका लागि लगाइएको तरकारी पनि उत्पादन हुन नसकेकाले बजारमा तरकारीको मूल्य आकाशिएको कृषि अर्थ विज्ञ भट्टराई बताउनुहुन्छ । “बेच्न भन्दा पनि खानका लागि लगाइएको बाली समेत वर्षाले गर्दा हुन पाएन”, उहाँले भन्नुभयो, “जसले गर्दा बजारमा सागसब्जीको मूल्य बढेको छ ।”
किसानले समयमै तरकारी खेती गर्न नपाउँदा बजारमा तरकारीको मूल्य आकाशिएको छ । १५÷२० रुपैयाँमा पाइने रायो सागको मूल्य अहिल रू ६०÷७० पुगेको छ । बजारमा बोडी, भिन्डी, करेला, परवल, सिमी लगायतका तरकारी प्रतिकेजी रू १२० देखि १६० रुपैयाँसम्म पुगेको छ । सबैभन्दा सस्तो स्कुस भने प्रतिकेजी रू ३०–३५ मा बिक्री भइरहेको छ । आलूको मूल्य प्रतिकेजी रू ७० देखि रू १०० पुगेको छ ।
धान उत्पादन बढ्ने
तरकारी खेतीलाई वर्षाले प्रभावित पारे पनि धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषि अर्थ विज्ञ भट्टराई बताउनुहुन्छ । किसानले समयमै रासायनिक मल नपाएर हाल्न नपाए पनि वर्षाले उत्पादन बढ्ने उहाँको भनाइ छ ।
“रोपाइँ पछि हुर्किएको धानलाई वर्षाले त्यति धेरै असर गर्दैन”, उहाँले भन्नुभयो, “अब मौसम खुल्यो भने धान उत्पादन राम्रो हुन्छ ।” बाला लाग्ने बेलामा हावा चल्यो भने चाहिँ असर गर्ने उहाँले बताउनुभयो ।
झापामा यो वर्ष ९७ हजार ८ सय हेक्टरमा धान खेती लगाइएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३ सय हेक्टर बढी हो । अघिल्लो वर्ष ९७ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो ।
“धान लाग्ने ठाउँको यो आँकडालाई शतप्रतिशत मान्नुपर्छ”, उहाँले भन्नुभयो । झापमा गत वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टन धान उत्पादन भएको थियो । हालसम्म यस वर्ष धान उत्पादनको परिमाणको प्रक्षेपण नगरिए पनि उत्पादन बढ्ने कृष अर्थ विज्ञ भट्टराई बताउनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



