
बिर्तामोड, २० साउन । झापामा हालसम्म ९३ प्रतिशत रोपाइँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा धान खेती हुँदै आएको ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये ९३ प्रतिशत अर्थात् ८१ हजार ३७५ हेक्टरमा धान रोपाइँ सकिएको जानकारी दिनुभयो ।
मनसुन समयै शुरु भएको र खेतमा पानी जमिरहेका कारण यस वर्ष रोपाइँ शतप्रतिशत रोपाइँ हुने उहाँले बताउनुभयो । “खेतमा पानी पनि छ, मौसम अनुकूल भएकाले धमाधम रोपाइँ भइरहेको छ”, उहाँले भन्नुभयो, “यो वर्ष उत्पादन पनि बृद्धि हुने देखिन्छ ।”
गत वर्ष झापामा बर्खे धानको उत्पादकत्व ४.५ मेट्रिकन रहेको थियो । यो वर्ष १० प्रतिशत धान उत्पादन बृद्धि हुने प्रमुख सिंहले बताउनुभयो ।
यता, कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷०७८ मा ९९.५ प्रतिशत प्रगति हासिल गरेको छ । प्रदेश नं. १ सरकार अन्तरगतका कार्यक्रममा भारित प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत हासिल गरेको उहाँले बताउनुभयो । “प्रदेशका कार्यक्रममा उच्च प्रगति हासिल भएको छ”, उहाँले भन्नुभयो, “नयाँ आर्थिक वर्षका कार्यक्रमहरु भदौदेखि शुरु गर्नेगरी तयारी भइरहेको छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



