
झापा, २० साउन । इजराइलमा हुने उन्नत जातको केरा खेती झापामा शुरु भएको छ ।
झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केरा खेती शुरु गर्नुभएको हो । झापामा पहिलो पटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उहाँले बताउनुभयो ।
“एउटै माटोमा १० वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उहाँले भन्नुभयो, “यो जातको केरा खेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो जातको केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उहाँको दाबी छ ।
विलियम केराको बोटको मध्यम उचाइ बढीमा १० फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुने उहाँले बताउनुभयो । कोसा मोटो र लामो हुने बताउँदै उहाँले भन्नुभयो, “एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ ।”
बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रीसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गर्नुभएको छ । एग्रीसेन्टरमा उहाँसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्की लगायत पाँच जनाको साझेदारी छ । रू २५ लाखबाट शुरु गरेको व्यवसायमा अहिले रू ७० लाख लगानी पुगिसकेको छ ।
एक वर्ष अघि शुरु गर्नुभएको केरा खेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ । केरा खेती बढाएर २५ बिघामा पु¥याउने लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयो, “जग्गा भाडामा लिएर घेराबारा गरिसकेका छौँ, आउने सिजनमा बिरुवा लगाउँछौँ ।”
हाल दुई बिगाहा क्षेत्रफलमा गरिएको केरा खेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भूटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताउनुभयो ।
सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल जानुभएका बस्नेतले त्यहाँ केरा खेती सम्बन्धी सिकेको सीप र प्रविधि अनुसार नै आफ्नै गाउँ–ठाउँमा केरा खेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गर्नुभयो ।
इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि ल्याबमा विकास गरिएको बिरुवाहरु ल्याएर खेती गरिएको उहाँ बताउनुहुन्छ । अहिले उहाँको बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कंदै गरेका विभिन्न चरणका केराका बोट छन् ।
विलियम जातको केरा खेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउनुहुन्छ । फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेकय उहाँले बताउनुभयो ।
यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ । साथै, पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगर लगायतका बजारमा बिक्री भइरहेको बस्नेतले बताउनुभयो । उत्पादित केराको बजारको अभाव नरहेको बताउँदै उहाँले भन्नुभयो, “बजारको समस्या छैन, व्यापारीहरु बगानमै आएर पनि लैजानुहुन्छ ।”
शुरु–शुरुमा धेरै नाफा नदेखि पनि अबको उत्पादनले नाफा दिने उहाँको भनाइ छ । उहाँले आउँदो दशैंलाई लक्षित गरेर केरा उत्पादनको तयारी गरिरहनुभएको छ ।
केरा खेतीका लागि यहाँको माटो अनुकूल भएकाले रासायनिक मलको आवश्यकतै नपर्ने बताउँदै उहाँले आफूहरुले उत्पादन गरेको केरा अग्र्यानिक रहेको दाबी गर्नुभयो । भन्नुभयो, “खेतमा आफैँ तयार पारेको जैविक मल प्रयोग गर्छौं ।” फार्ममा अहिले पाँच जनाले रोजगारीसमेत पाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



