
सन्तोष शर्मा
झापा, २८ असोज । झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मरेका÷मर्न थालेका छन् ।
यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कुखुराको आन्द्रा भुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।”
गत सोमबारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । करिब आधा किलो तौल भएको माछा उहाँले केही दिनअघिदेखि मात्र बिक्री गर्न थाल्नु भएको थियो । “सोमबार आठ÷दश वटा माछा मरेको भेट्यौँ”, उहाँले भन्नुभयो, “त्यसको भोलिपल्ट मंगलबार ५० वटा जति, बुधबार एक क्विन्टल र आज दुई क्वीन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।”
पोखरीमा १० हजार माछाको भुरा हालेको उहाँको भनाइ छ । पोखरीमा हालिएको विषका कारण करिब १० क्विन्टल माछा मर्ने र सोबाट रू ३ लाख रुपैयाँभन्दा बढी घाटा हुने उहाँले बताउनुभयो । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उहाँले बताउनुभयो ।
सक्षम युवा कृषि फर्म दर्ता गरेर विसं.२०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताउनुभयो ।
पोखरीमा विष हालिएको विषयमा उहाँले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरुले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताउनुभयो । “माछा मरेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्दै छौं ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



