
टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो ।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्ध आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ ।
जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भएपनि त्यो सम्भव भएन, जीजी प्रेस र अरु सञ्चारमाध्यमले जनाएका छन् । परिणामस्वरुप, जापानी तेल कम्पनी इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन् । उनीहरु बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् ।
व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको तर कुनै प्रगति हुन नसकेको बताए । “हामीले सरकारको निर्णयको प्रतिक्षा गरेका थियौं, तर अहिल्यै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा हामी छैनौं,” तेलको थोकबिक्रेता कम्पनी शोवा शेल सेकियूका प्रवक्ताले बताउनुभयो ।
अर्को थोकबिक्रेता कम्पनी जेएक्सटीजीले पनि तेल आयातबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । जापानमा तेलको आयात मुख्यरुपमा मध्यपूर्वबाट हुने गरेको छ । गत वर्ष जापानको कूल आयातको ५.३ प्रतिशत कच्चा तेल इरानबाट आयात भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
