राजनीति शीर्ष खबर

झापाबाट समाजवाद शुरु, प्रतिबद्धता पूरा गर्दै सांसद् कार्की

add

सन्तोष शर्मा
झापा, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् झापा क्षेत्र नं. १ का सांसद सुरेन्द्र कार्की (पार्थ)ले ‘बालबालिकालाई निःशुल्क दूध’ अभियानको आज शुभारम्भ गर्नुभएको छ ।

झापाको मेचीनगर–१२ सहरेडाँगीस्थित सरस्वती बाल कल्याण माविका बाल कक्षामा अध्ययनरत् बालबालिकालाई दूध सेवन गराउँदै सांसद कार्कीले अभियान शुभारम्भ गर्नुभयो । ‘धरतीका निम्ति गोबर मल, बालबालिकाको निम्ति एक ग्लास दुध बनेर आउनेछ समाजवाद’ भन्ने नाराका साथ आजदेखि अभियान शुरु गरिएको हो । प्रतिनिधिसभा निर्वाचनताका सांसद् कार्कीले बालबालिकालाई निःशुल्क दूध उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । सोही प्रतिबद्धता अनुरुप अभियान शुरु गरिएको हो । कार्यक्रममा विद्यालयका ६८ जना बालबालिकालाई दूध सेवन गराइएको थियो । उनीहरुलाई दैनिक एक ग्लास दूध निःशुल्क उपलब्ध गराइने छ ।

आजदेखि झापाबाट समाजवाद शुरु भएको बताउँदै पूर्वसञ्चारमन्त्री समेत रहनुभएका कार्कीले भन्नुभयो, ‘समाजवाद भनेको नहुनेलाई हुने दिने हो, आफूसँगै समाजलाई पनि अघि बढाउने हो, आजदेखि झापाबाट समाजवाद शुरु भयो ।’ विगतमा झापाले परिवर्तका लागि क्रान्तिको राँको बालेको बताउँदै सांसद् कार्कीले झापाली जनताले समाजवाद बुन्न सक्नुपर्ने बताउनुभयो । ‘अहिले हामी उपभोक्तावादको शिकार भएका छौँ’, उहाँले भन्नुभयो, ‘एक्लै खाने, एक्लै गर्ने सोच छ, मुलुक बनाउने सोच कसैमा छैन ।’

सरकार समाजवादतर्फ उन्मुख हुन नसकेको बताउँदै नेता कार्कीले अब जनताले नै समाजवादको सुरुवात गर्नुपर्ने उल्लेख गर्नुभयो । बालबालिकालाई आदर्शवान बनाउने कुरामा शिक्षकको भूमिका महत्वपूर्ण रहने नेता कार्कीले बताउनुभयो । ‘सबै विद्यार्थीमा विशेष क्षमता छ’, उहाँले भन्नुभयो, ‘त्यसलाई चिन्न सक्नु भनेको सफल शिक्षक हुनु हो, भोलिको नेपाल भनेको बालबालिका हुन्, शिक्षकले यस विषयमा ध्यान दिनुपर्छ ।’

नेता र कर्मचारीले शिक्षा र स्वास्थ्यमा लगानी गरेकाले दुवै क्षेत्रमा विकृति बढेको नेता कार्कीले दाबी गर्नुभयो । ‘यो दुई वटा क्षेत्रमा नोक्सान हुँदैन रहेछ’, उहाँले भन्नुभयो, ‘जसले स्वास्थ्य र शिक्षामा असमानता बढेको छ, हुनेखानेको मात्र पहुँचमा पुगेको छ ।’ उक्त दूधको प्रयोजन ऋतिका डेरी उद्योगले गरेको हो । उद्योगका प्रबन्धक धनश्याम चिमरियाले एक वर्षसम्म बालबालिकालाई निःशुल्क दूध उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेले विद्यार्थीको खाजा कटौती गरिएको गुनसो गर्नुभयो ।

विद्यालयको भवन जीर्ण रहेको, अवस्था नाजुक रहेकाले सहयोगका लागि सांसद कार्कीसमक्ष आग्रह गर्नुभयो । कार्यक्रममा २०७४ सालको एसईईमा सामुदायिक विद्यालयतर्फ मेचीगनर क्षेत्रबाट उत्कृष्ट हुने छात्रा श्रद्धा बस्नेत र वर्ष उत्कृष्ट शिक्षकका रुपमा शशी पराजुलीलाई सम्मान गरिएको थियो ।

Facebook Comments