
सन्तोष न्यौपाने
झापा, १ फागुन । झापा अर्जुनधाराका कृषक सामूहिक पान खेतीमा जुटेका छन् ।
जिल्लामै पहिलो पटक अर्जुनधारा–१० का सात जनाको समूह बनाएर उनीहरु व्यावसायिक पान खेतीमा जुटेका हुन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा व्यावसायिक पान खेती शुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले बताउनुभयो ।
“नेपालमा भारतबाट ठूलो मात्रामा पानको पात आयात हुन्छ”, पोखरेलले भन्नुभयो, “आयत प्रतिस्थापन गर्न र स्वदेशमै पान उत्पादन गर्ने उद्देश्यले समूह नै बनाएर व्यावसायिक पान खेती शुरु गरेका हौँ ।”
भारतको कलकत्ताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर पान खेती गरेको अर्का कृषक गोपाल शिवाकोटी बताउँछन् । नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको उहाँका भनाइ छ । “आयात धेरै हुने भएकाले यही जातको पान खेती गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”
आफूहरुले शुरु गरेको पान खेती ठूलो नभए पनि आउने पुस्ता र पान खेती गर्न चाहनेका लागि उपयोगी हुने अर्का कृषक सन्तबहादुर तामाङले बताउनुभयो । “यसबाट अरुले सिक्ने अवसर मिल्छ”, उहाँले भन्नुभयो, “अरुहरुलाई समेत पान खेतीमा जोड्नसके पान खरीदमा विदेशिइरहेको ठूलो धनराशी बचत हुन्छ ।”
अन्य खेतीको तुलनामा पान खेती गर्दा शुरुमा अलि बढी नै लगानी हुने भएकाले पान खेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र लगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकहरुको जोड छ ।
कालिस्थान कृषक समूहले शुरु गरेको पान खेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । रू १५ लाख लगानीमा शुरु गरेको खेतीबाट मासिक रू एक लाख आम्दानी भइरहेको छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पान खेती एक पटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने अर्का कृषक त्रिलोचन खरेलले बताउनुभयो ।
झापा मासिक चार लाख थान पानको पातको माग रहेको कृषक पोखरेल बताउँछन् । आफूहरुले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उहाँले बताउनुभयो । “आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाइ रुपैयाँका दरले पात किनेर लान्छन् ।”
अन्य बालीको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने पान खेतीमा सरोकारवाला निकायले ध्यान दिनसके आयात प्रतिस्थापनसँगै कृषकका लागि दर्बिलो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



