
बिर्तामोड, १५ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सामूहिक केरा खेती गर्दै आएको कृषिक समूहलाई प्रदेश नं. १ सरकारले मालवाहक गाडी (पिकअप) प्रदान गरेको छ ।
सामूहिक खेती गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले झापा गाउँपालिका–३ रङ्गेथानस्थित साधना सांस्कृतिक नमूना कृषक समूहलाई पिकअप प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र झापामार्फत् ८५ प्रतिशत अनुदान र १५ प्रतिशत लागत सहभागितामा पिकअप प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । रू २३ लाख ६० हजारको पिकअप प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लार्मीले हस्तान्तरण गर्नुभएको थियो ।
झापा–३ मा १४ जना कृषकले १०५ हेक्टर क्षेत्रफलमा सामूहिक केरा खेती गरिरहेका छन् । आफ्नो ढुवानीको साधन नहुँदा उत्पादित केरा बिक्री–वितरणमा समस्या भएको र अबदेखि त्यस्तो समस्या नरहने कृषक चन्द्र बस्नेतले बताउनुभयो । बस्नेत केरा खेतीका लागि इजरायलमा साना किसान कृषि सहकारीमार्फत् तालिम लिई हाल सामूहिक केरा खेती गर्दै आउनु भएको छ ।
कृषिमन्त्री मगरले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताउनुभयो । मेहनति कृषकको साथमा सरकार रहेको भन्दै उहाँले कृषकलाई प्रविधिमैत्री र स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार सधैँ तत्पर रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहले झापा गाउँपालिका केरा र मकै खेतीका लागि देशकै नमुना भए पनि कृषकले उचित मूल्य नपाउँदा समस्या भएको बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले कृषि पेशालाई पूर्ण व्यावसायिक बनाउन सरकार लागि परेको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



