
कनकाई, २० असार । झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।
नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
“यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौं”, उहाँले भन्नुभयो, “कृषि उत्पानदनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।” नगरपालिकाले अगामी आवका लागि रू २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । कृषि पकेट क्षेत्र, कृषि औजार, मल बिऊ व्यवस्थापन, चक्लाबन्दी खेती, अग्र्यानिक खेती, पशुपंछी, सामूहिक खेती लगायतका कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ ।
नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको घर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । “जसको जमिन छ, तर सुरक्षित घर छैन, उनीहरुको घर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मेयर आवास कार्यक्रम अन्तरगत काम भइरहेको छ ।”
नगरको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्र बजेट छुट्याइए पनि कृषिमा बढी बजेट छुट्याइएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “कृषिको माध्यमबाट रोजगारी सिर्जना गरेर विदेशिइरहेका युवालाई स्वदेशमै टिकाउने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “त्यसकारण पनि कृषिलाई प्राथमिकता दिइएको हो ।”
नगरका ९ वटै वडालाई सिलिङ बजेट दिइएकाले वडाको प्राथमिकताका आधारमा वडागत बजेट बाँडफाँड हुने उहाँको भनाइ छ । हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्सात गरेर कार्यान्वयनमा लगिने जनाइएको छ ।
नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ९० करोड ६१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



