
सन्तोष शर्मा
झापा, २ साउन । झापामा ६० प्रतिशत रोपाइँ सकिएको छ ।
जिल्लामा धान खेती हुने ८७ हजार पाँच हेक्टरमध्ये ५२ हजार पाँच सय हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । असार अन्तिम सातादेखि वर्षा नहुँदा जिल्लामा गत वर्षको तुलनामा १२ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
झापा धान खेतीका लागि मात्र चाहिने रासायनिक मल ७ प्रतिशत मात्र आपूर्ति भएको छ । झापामा साल्ट ट्रेडिङमार्फत एक पटक मात्र १७ हजार २०० बोरा युरिया र १७ हजार बोरा डिएपी मल आएको छ । त्यसयता मल आएको छैन ।
“झापाको गौरीगञ्ज, बनियानी र झापा गाउँपालिकामा मात्र धान खेतीका लागि प्रतिस्थानीय तह १७ हजार बोरा मल चाहिन्छ”, प्रमुख विष्टले भन्नुभयो, “अहिलेसम्म आएको मल मागको ७ प्रतिशत मात्र हो, जिल्लाका कृषकहरु मल नपाएको व्यापक गुनासो गरिरहेका छन् ।” झापामा धान खेतीका लागि १४ हजार मेट्रिकटन युरिया र ८ देखि १० हजार मेट्रिकटन डिएपी मल आवश्यक पर्छ ।
मल अभावसँगै जिल्लाका कृषक वर्षा नहुँदा समस्यामा परेका छन् । पानी नपरेर रोपाइँ गर्न ठिक्का पारेको खेतमा धाँजा फाट्न थालेको भद्रपुर–८ की रिमा पाण्डेले बताउनुभयो । “पानी पर्यो भने फेरि जोतेर मात्र रोपाइँ हुन्छ”, उहाँले भन्नुभयो, “पानी पर्ने छाँटकाँट देखिँदैन ।”
त्यस्तै, समस्यामा हुनुहुन्छ भद्रपुर–६ का कृषक श्रवण महतो । “आधा खेत रोपाइँ गरियो, आधा बाँकी छ”, उहाँले भन्नुभयो, “पानी नपर्दा रोपको धान पनि पहेँलिन थाल्यो ।” मल नपाइने, पाइए पनि महँगोमा किन्नुपर्ने बाध्यता रहेको उहाँ सुनाउनुहुन्छ ।
“पानी नपरेर रोपाइँ गर्न सकिएको छैन, बिऊ छिप्पनी लागिसक्यो”, भद्रपुर–५ का भागुलाल राजवंशीले भन्नुभयो, “साउन लाग्यो अब पानी पर्छ कि ?”
जिल्लामा सरकारी अनुदान तथा व्यक्तिगत रुपमा सोलार, बोरिङ, नहर लगायतबाट सिँचाइ सुविधा उपलब्ध भएकाहरुले रोपाइँ गरिरहेका छन् भने वर्षाको भरमा खेती गर्ने किसान समस्यामा परेका छन् ।
स्थानीय सरकार गठन भएपछि केही मात्रामा सिँचाइको सुविधा बढे पनि झापाका अधिकांश कृषक आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



