
झापा, १९ साउन । झापामा आव २०७८–७९ मा दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ ।
जिल्लामा एक लाख ५९ हजार दुई सय २० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने एक लाख ८९ हजार आठ सय ७१ मेट्रिक टन कटौती गरी दुई लाख १७ हजार चार सय ८६ मेट्रिक टन खाद्यान्न बचत भएको ज्ञान केन्द्रका कार्यालय प्रमुख विष्टले बताए ।
कार्यालयले माटो सुधारका लागि माटो नमूना विश्लेषण छ सय, माटो परीक्षण घुम्ती शिविर छ, माटो परीक्षण शिविर नौ, मलको नमूना विश्लेषण ३०, माटो व्यवस्थापनसम्बन्धी सचेनामूलक घुम्ती तालिम १० सञ्चालन गरेको छ । ती कार्यक्रमबाट एक हजार पाँच सय २८ कृषकको माटो सुधारको प्रयास गरिएको छ ।
जिल्लामा गरिएको नमूना माटो परीक्षणबाट माटोको अवस्था कमजोर रहेको पाइएको छ । सङ्कलित माटोको नमूना परीक्षण गर्दा ७८ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ८० प्रतिशतमा नाइट्रोजन कम, ५३ प्रतिशतमा फस्फोसर कम र ६५ प्रतिशतमा पोटास कम मात्रा रहेको पाइएको कार्यालयले जनाएको छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



