
झापा, २७ साउन । नेपालको चियालाई प्रतिबन्ध लगाउने प्रस्ताव भारतका दुवै सदनमा पुगेको छ । राज्यसभा र लोकसभामा पुगेको प्रस्तावमा गुणस्तर नपुगेको, सस्तो भएको भन्दै आयातमा कडाइ गर्ने प्रस्ताव गरिएको छ ।
राज्यसभाको ‘डिपार्टमेन्ट रिलेटेड पार्लियामेन्टरी स्ट्यान्डिङ कमिटी अन कमर्स’ यससम्बन्धी प्रतिवेदन नै तयार पारी नेपाली चिया आयातमा कडाइ गर्ने प्रस्ताव गरेको हो । भारतीय चिया बजार र विशेषगरी दार्जिलिङ चियाको लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव त्यसमा दिइएको छ। भारतीय चिया क्षेत्रलाई नेपाली चियाले असर गरेको उल्लेख छ ।
प्रतिवेदनमा भारतमा आयात हुनेमध्ये लगभग आधा नेपालबाटै चिया आएको उल्लेख गरिएको छ। नेपाल र भारतको व्यापार सन्धिले भन्सार शुल्क समेत मिनाह हुने र परिमाणात्मक बन्देज समेत नहुने अवस्था भएकाले त्यो भारतको हितमा नरहेको उल्लेख छ। भारतीय चियामा नेपालले ४० प्रतिशत आयात शुल्क तोके पनि भारतले त्यसो गर्न नपाएको उल्लेख छ।
गत आर्थिक वर्षमा भारतमा नेपालबाट १ करोड २० लाख केजी चियापत्ती निर्यात भएको छ। जसको मूल्य २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।
भारतमा ग्रिन टी २८ हजार ७४० केजी निर्यात भएको छ। जसको मूल्य १ करोड ५४ लाख रुपैयाँ रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



