
झापा, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका १ नं. वडा कार्यालयले पशुपालक कृषकलाई प्रोत्साह गर्न विभिन्न योजना बनाएको छ ।
वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम ल्याइएको वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । उहाँका अनुसार गाई–भैंसीको निःशुल्क कृत्रिम गर्भधान, पशु बिमा, क्याल्सिमयमा सहुलियत लगायतका कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो ।
पशु बिमा गर्न अभिप्रेरित गराउने उद्देश्यले गाई–भैंसीको बिमा गर्न चाहने कृषकलाई बिमा शुल्कको आधा रकम वडाले ब्यहोर्ने उहाँले बताउनुभयो । “कृषकलाई जतिसक्दो सेवा सुविधा दिएर व्यावसायिक बनाउने वडाको योजना छ”, उहाँले भन्नुभयो, “वडाबाट सम्भव हुने सबै काम गर्छौं ।”
पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजीकरण गरेको जनाइएको छ । वडा कार्यालयबाट कृषकले सहुलियत दरमै पशुका लागि आवश्यक क्याल्सियम पनि पाउने छन् ।
चालू आर्थिक वर्ष २०७९/०८० मा वडामा कृषि क्षेत्रलाई प्राथमिकताको सूचीमा राखेर कृषि औजार वितरण, अभिमुखीकरण, तालीम लगायतका कार्यक्रम राखिएको वडा सदस्य तुलसा खतिवडा रेग्मीले बताउनुभयो ।
बुद्धशान्ति–१ मा निर्वाहमुखी र व्यवसायिक रुपमा पशुपालन हुँदै आएको छ भने धान, सुपारी, घुसुवा खेती (कागती, बेसार, मरिच) लगायतका खेती गरिँदै आएको वडा सदस्य सुमित्रा रसाइलीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ केरा खेतीको पनि राम्रो सम्भावना छ ।” वडामार्फत् यहाँका कृषक परिचय–पत्र पनि बाढ्ने तयारी पनि भइरहेको छ ।

गाउँपालिकाले वडालाई दिएको सिलिङ बजेट रू ९६ लाख र विभिन्न विकास निर्माण बजेट गरी रू चार करोड ५० लाख बजेट रहेको वडा सचिव हरि प्रधानले जानकारी दिनुभयो । वडा कृषि क्षेत्रको प्रवद्र्धनका लागि रू चार लाख ५० हजार बजेट छुट्याइएको छ ।
बुद्धशान्ति–१ मा स्थानीय तह निर्वाचनबाट वडाध्यक्ष वाग्लेसहित वडासदस्यमा लक्ष्मीप्रसाद कँडेल, मोहनकुमार राई, तुलसा खतिवडा रेग्मी र सुमित्रा रसाइली विजयी हुनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



