
मङ्गलवारे, १८ असोज । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार विश्वजन सिंजापतिले जानकारी दिनुभयो । अदालतको फैसलाअनुसार निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्नुपर्छ ।

निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोधमा गत वैशाख ३१ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), सङ्घीय विद्यार्थी फोरमले वृद्धि भएको शुल्क फिर्ता गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले गत जेठ ५ गते कुनै पनि निजी विद्यालयले बढेको शुल्क नलिनका लागि अन्तरिम आदेश जारी गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
