
ओखलढुंगा, १८ पुस । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् ।
उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ९समृद्धि० लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ ।
गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो । यहाँका किसानले खोर सुधार र घाँस खेती समेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् । समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



