
झापा, १९ पुस । झापामा भारतबाट माछाको अवैध आयात र बिक्री वितरण हुने गरेको भन्दै जिल्लाका माछापालक किसानले त्यसलाई रोक लगाउन माग गरेका छन् ।
मत्स्यपालक कृषक समूह झापाको अगुवाइमा झापाका १५ वटै पालिकाको कार्यालयमा यससम्बन्धी ध्यानाकर्षणपत्र बुझाएको छ । खुला सीमाको फाइदा उठाउँदै भित्र्याइएका मरेका माछासमेत फर्मालिन प्रयोग गरेर बिक्री वितरण गरिएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद सिवाकोटीले बताउनुभयो । यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको र यहाँका माछापालक किसानको माछासमेत बिक्री नहुने अवस्था रहेको पनि उहाँले जनाउनुभयो ।
“आयातित माछाका कारण स्थानीय उत्पादनको बिक्री वितरणमा समेत समस्या भएकाले हामीले ठूलो क्षति बेहोर्नु परेको छ,” उहाँले भन्नुभयो, “यसलाई रोक्न यथाशीघ्र पहल होस् ।”केही समयअघि झापाको सबै पालिकाका जनप्रतिनिधिसहितको छलफलले जिल्लामा भारतीय माछा बिक्री वितरणमा रोक लगाउने साझा प्रतिबद्धता गरे पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा बिर्तामोड नगरपालिकाले भने भारतीय माछा आयातमा प्रतिबन्ध लगाउँदै त्यस्ता माछा भित्रिएको खबर पाएपछि नियन्त्रण गरेर नष्ट गर्दै आएको छ । अन्य पालिकाले भने खासै चासो नदिएको स्थानीय कृषकको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



