
झापा, २५ पुस । इलामको रोङ गाउँपालिकाले पहिलोपटक गुन्द्रुक सिंकी ब्राण्डिङ्ग कार्यक्रम शुरु गरेको छ । स्वीस सरकारको सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमको ३४ लाख ४५ हजार, देवनछाप साना किसान कृषि सहकारी संस्थाको १५ लाख ८० हजार र रोङ गाउँपालिकाको १७ लाख ६० लाख हजार गरी ६७ लाख ८५ हजार रुपैयाँको लागतमा सो कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रमका लागि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवास, देवनछाप साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बमबहादुर राई र नेपाल कृषि बजार विकास कार्यक्रमका प्रतिनिधि विष्णु
काफ्लेबीच संझौता भएको छ । परीक्षणका लागि यस वर्ष रोङ गाउँपालिका वडा नं ५ मा गुन्द्रुक सिंकी ब्राण्डिङ्ग कार्यक्रम शुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । उनले अबको दुई हप्तापछि गुन्द्रुक सिंकी ब्राण्डिङ्ग शुरु गरिने जानकारी दिए ।
माइक्रो बायोलोजिस्ट आशिक तिवारीसंगै गुन्द्रुकमा पिएचडि गरेका डा.टीकाबहादुर कार्कीले सहयोग गर्ने भएका छन् । फुड टेक्नोलोजिस्ट दिक्षा भट्टराई तीन महिनाका लागि रोङ गाउँपालिका आइपुगेको अध्यक्ष स्याङ्बोले बताए । अब उत्पादनका लागि आधारभूत तालिम गराइने रोङ गाउँपालिकाले जनाएको छ । उत्पादनको लागि हाललाई ड्रायरलगायतका कामका लागि निजी ब्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गर्ने र यहि आर्थिक वर्षमा त्यस्तै उद्योग देवनछाप साना किसान कृषि सहकारीको जग्गामा स्थापना गर्ने अध्यक्ष स्याङ्बोले जानकारी दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



