
बिर्तामोड, ५ माघ । झापाको बिर्तामोड नगरपालिकाले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ ।
कृषकलाई आलुको बिऊ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो ।
नगरपालिका र कृषकको आधा–आधा लागत सहभागितामा यस वर्ष ३८ टन आलुको बिऊ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकट्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बिऊ वितरण गरिएको उहाँले बताउनुभयो ।
बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका कृषकलाई आलुको बिऊसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधि समेत प्रदान गरिएको छ । कृषकलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बिऊ वितरण गरिएको छ ।
आलु खेती प्रवद्र्धन गरिएको पहिलो वर्ष प्रतिकट्ठा १३–१४ मन, दोस्रो वर्ष ८–९ आलु उत्पादन नभएको थियो । यस वर्ष मौसम राम्रो हुनुका साथै रोग–कीरा नदेखिएकाले १०–१२ मन प्रतिकट्ठा आलु उत्पादन हुने आंकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



