
सन्तोष शर्मा
झापा, ५ माघ । झापामा यस वर्ष आलु खेतीको क्षेत्रफल बढेको छ ।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत वर्ष झापामा १५ हजार ७८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यस वर्ष १५ हजार ९८५ हेक्टरमा आलु खेती गरिएको छ ।

गत वर्ष झापामा दुई लाख ५७ हजार २२४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्री लगायत जातका आलुखेती बढी हुने गरेको प्रमुख विष्टको भनाइ छ । क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ ।
झापाका स्थानीय तहले आलु खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो । झापाको बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका लगायतका पालिकाले आलु खेतीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् ।
बिर्तामोड नगरपालिकाले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । कृषकलाई आलुको बिऊ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताउनुभयो ।
नगरपालिका र कृषकको आधा–आधा लागत सहभागितामा यस वर्ष ३८ टन आलुको बिऊ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकट्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बिऊ वितरण गरिएको उहाँले बताउनुभयो ।

बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका कृषकलाई आलुको बिऊसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधि समेत प्रदान गरिएको छ । कृषकलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बिऊ वितरण गरिएको छ । आलु खेती प्रवद्र्धन गरिएको पहिलो वर्ष प्रतिकट्ठा १३–१४ मन, दोस्रो वर्ष ८–९ आलु उत्पादन नभएको थियो । यस वर्ष मौसम राम्रो हुनुका साथै रोग–कीरा नदेखिएकाले १०–१२ मन प्रतिकट्ठा आलु उत्पादन हुने आंकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताउनुभयो ।
आलु आयत बढ्यो
यता, जिल्लामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार ४५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिनुभयो ।
काँकरभिट्टा नाकाबाट गत वर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
काँकरभिट्टा नाकाबाट भारत, बंगलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ ।
स्थानीय उत्पादनले नपुग्ने र पहाडमा पनि मौसमी रुपमा आलु खेती हुने गरेको आलुको आयत बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



