
सन्तोष शर्मा
बनियानी, १२ फागुन । झापा कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् ।
साढेपाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बिऊ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती शुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताउनुभयो ।
कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कट्ठा जग्गा वार्षिक रू एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उहाँको बताउनुभयो । पहिलो वर्ष ६० हजार केजी बेसार उत्पादन भएको उहाँले बताउनुभयो । “पहिलो वर्ष राम्रो उत्पादन भयो”, उहाँले भन्नुभयो, “यस पटक ४० देखि ५० हजार केजीसम्म उत्पादन हुने अनुमान छ ।”

शुरुमा बजार अभाव हुँदा निक्कै समस्या भएको उहाँले तीतो अनुभव सुनाउनुभयो । “बेच्न धेरै गाह्रो भयो, किन्छौं भनेर आश्वासन दिएकाहरुले नलगेपछि कतिपय बेसार बिग्रियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बिऊको लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौं ।”
स्थानीय सामग्रीको प्रयोग गरेर ड्रमबाट बेसार प्रशोधन गर्ने उपकरण बनाएर बेसार प्रशोधन गरेको उहाँले बताउनुभयो । काँचो बेसार नबिकेपछि साथी कृषि फर्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालिएको छ भने बेसारको बिऊ समेत बिक्री गर्ने गरिएको छ ।

बेसारको धुलो बनाएर करिब तीन हजार केजी बिक्री गरेको अर्का कृषक गोविन्द राजवंशीले बताउनुभयो । बेसार खेतीबाट पहिलो उत्पादन गर्न रू १२ लाख खर्चको उहाँले बताउनुभयो । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ ।
[1]_55EFpA463G.jpg)
धुलो बेसार प्रतिकेजी रू तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरुले उत्पादन गरेको बेसारको माग धेरै रहेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको बेसार एक पटक प्रयोग गर्ने उपभोक्ताले अर्को पटक हामी कहाँ नै आउनुहुन्छ, राम्रो प्रतिक्रिया पाइरहेका छौं”, उहाँले भन्नुभयो, “थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।” व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लाने गरेका छन् ।
भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रू २०० देखि रू २५० मै बिक्री हुने भएकाले केही समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसला जन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकहरुको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती शुरु गर्ने सोच रहेको उनीहरु बताउँछन् ।
यता, कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फर्म तथा प्रशोधन केन्द्रलाई रू सात लाख समेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फर्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।”
झापामा व्यावसायिक बेसार खेती खासै नभएको उहाँको भनाइ छ । “छिटफुट रुपमा कृषिकले खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “भारतबाट ठूलो परिमाणमा बेसार आयात हुने गरेको छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



