
बिर्तामोड, १२ फागुन । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ ले दुई जना विपन्न महिलालाई ठेला प्रदान गरेको छ ।
विपन्न रोजगार कार्यक्रम अन्तगरत रू ३५ हजार पर्ने दुई वटा ठेला प्रदान गरिएको बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । आज एक कार्यक्रमका बीच स्थानीयबासी लक्ष्मी राजवंशी र गोमादेवी पोखरेल गौतमलाई ठेला हस्तान्तरण गरिएको छ । वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तरगत अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
वडाबाट ठेला पाएपछि आफूलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताउनुभयो । “श्रीमान बितेपछि परिवार पाल्न सकस परिरहेको छ”, उहाँले भन्नुभयो, “अब यसमा चना–चटपटे, झालमुरी लगायतको व्यवसाय गर्छु, गरी खाने सहारा मिलेकोमा खुसी लागेको छ ।”
मागका आधारमा राजवंशी र गौतमलाई ठेला वितरण गरिएको वडासचिव टिका अधिकारीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



