
झापा, १७ फागुन । धानबाली पछि मकै बालीको खेती गर्ने बेला भएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा रहेको छ । छिटपुट रुपमा मकै उत्पादन समेत भई बजारमा आउन थालेको छ ।
पछिल्लो समय मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यो कीराको प्रकोपबाट मकै बालीका धेरै क्षति हुने गरेको उहाँले बताउनुभयो ।
“अमेरिकन फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूह अन्तगत पर्ने रात्रिचर स्वभावको कीरा हो, यसको लार्भा अवस्था हानिकारक अवस्था हो”, उहाँले भन्नुभयो, “भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ ।”
यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातहरुमा स–साना प्वाल परेको देखिने उहाँले बताउनुभयो । “पछि कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्दछ”, उहाँले भन्नुभयो, “लार्भाले खाँदै गर्दा पातहरुमा प्रशस्त आलो दिशाहरु देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुगाँ तथा घोगामा समेत नोक्सानी गर्छ ।”
कसरी गर्ने व्यवस्थापन ?
— यो कीराको व्यवस्थापनको लागि नियमित रुपमा खेतीबारीको अनुगमन गर्ने ।
— कीरा वा अण्डा देखिएमा हातले टिपेर नष्ट गर्ने
— मकै रोप्नु अघि इमिडाक्लोरोपिड ४८ प्रतिशत एफ.एस. विषादी प्रतिकिलोग्राम बीउमा ४ एम.एल. का दरले बीउ उपचार गर्ने ।
— कीराको पहिलो अवस्थामा निम जन्य बिषादी (एजाडिरेक्टीन) ५ एम.एल. प्रतिलिटर पानीका दरले प्रयोग गर्ने ।
— पातमा प्वालहरु साथै गुभोमा क्षतिको लक्षण देखा परेमा स्पाइनेटोराम ११.७ प्रतिशत विषादी १ एम.एल. प्रति २ लिटर पानीका दरले वा इमामेक्टिन बेन्जोएट ५% एस.जी. १ ग्रामप्रति २.५ लिटर पानीका दरले वा क्लोरेन्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. १ एम एल प्रति २.५ लिटर पानीका दरले मिसाएर स्प्रे गर्नुपर्दछ ।
मकै बालीमा फौजी कीराको प्रकोप देखिए तुरुन्त रोकथामको विधि अपनाउन र आवश्यक सहयोगका लागि कृष ज्ञान केन्द्र झापामा सम्पर्क कृषकहरुलाई अनुरोध समेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



