
भद्रपुर, १७ फागुन । झापाका केही स्थानमा लगाइएको मकैबालीमा अमेरिकन फौजी कीरा देखिएको छ ।
झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकन फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । “छिटफुट रुपमा दुई–तीन हेक्टरमा फौजी कीरा देखिएको छ”, उहाँले भन्नुभयो, “ठूलो क्षति गर्ने गरी प्रकोपको रुपमा चाहिँ देखिएको छैन ।” फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधि उपचार गरिएको उहाँले बताउनुभयो ।
वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्रच बढी सक्रिय हुने भएकाले मकै खेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्र झापाले आग्रहसमेत गरेको छ ।
“अमेरिकन फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूह अन्तगत पर्ने रात्रिचर स्वभावको कीरा हो, यसको लार्भा अवस्था हानिकारक अवस्था हो”, उहाँले भन्नुभयो, “भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ ।”
यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातहरुमा स–साना प्वाल देखिने उहाँले बताउनुभयो । “पछि कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्दछ”, उहाँले भन्नुभयो, “लार्भाले खाँदै गर्दा पातहरुमा प्रशस्त आलो दिशाहरु देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुगाँ तथा घोगामा समेत नोक्सानी गर्छ ।”
कसरी गर्ने व्यवस्थापन ?
अमेरिकन फौजी कीराको व्यवस्थापनको लागि नियमित रुपमा खेतीबारीको अनुगमन गर्ने, कीरा वा अण्डा देखिएमा हातले टिपेर नष्ट गर्ने, मकै रोप्नु अघि इमिडाक्लोरोपिड ४८ प्रतिशत एफ.एस. विषादी प्रतिकिलोग्राम बीउमा ४ एम.एल. का दरले बीउ उपचार गर्ने, कीराको पहिलो अवस्थामा निम जन्य बिषादी (एजाडिरेक्टीन) ५ एम.एल. प्रतिलिटर पानीका दरले प्रयोग गर्ने, पातमा प्वालहरु साथै गुभोमा क्षतिको लक्षण देखा परेमा स्पाइनेटोराम ११.७ प्रतिशत विषादी १ एम.एल. प्रति २ लिटर पानीका दरले वा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एस.जी. १ ग्रामप्रति २.५ लिटर पानीका दरले वा क्लोरेन्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. १ एम एल प्रति २.५ लिटर पानीका दरले मिसाएर स्प्रे गर्नुपर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



