
झापा, १९ फागुन । प्रदेश नं. १ सरकारले मकै खेती प्रबद्र्धनका लागि झापामा रू ४५ लाख अनुदान दिएको छ ।
मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रति हेक्टर रू १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकै खेती प्रबद्र्धन अन्तरगत सरकारले मान्यता दिएका बीऊ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फर्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् ।
सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा मकैको उत्पादकत्व प्रतिहेक्टर ५ देखि ६ छ । तर, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिकाको १ र २ नम्बर वडा तथा कचनकवल गाउँपालिकाको भारतीय सीमावर्ती क्षेत्र प्रति हेक्टर ८ भन्दा बढी रहेको केन्द्रका प्रमुख विष्टले बताउनुभयो ।
सीमावर्ती क्षेत्रमा मल तथा उन्नत बीउको सहज उपलब्धताले गर्दा सीमातर्वी क्षेत्रमा बढी उत्पादन हुने उहाँको भनाइ छ । भारतमा प्रतिहेक्टर १० भन्दा बढी उत्पादकत्व रहेको र उनीहरुको सिको गर्दै सीमावर्ती क्षेत्रका कृषकले अन्यको तुलनामा बढी उत्पादन गरिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



