
सन्तोष शर्मा
भद्रपुर, २२ फागुन । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षण खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई स्थानमा र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
“धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती शुरु गरेका छौं”, उहाँले भन्नुभयो, “परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।” अहिलेकै अवस्था हुने हो भने कृषकले धान खेती गर्न छाड्ने उहाँको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउनले कृषकले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
छरुवा धान खेतीको प्रविधिबाट कृषकको ब्याड बनाउने, बिऊ उखेल्ने र रोप्ने खर्च बच्ने छ । यो प्रविधिबाट खेत हिल्याएर ड्रम सिडर मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताउनुभयो । परीक्षण खेतीमा धान उम्रिसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



