
सन्तोष शर्मा
झापा, २६ चैत । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ ।
एक पटक लगाएपछि वर्षौंसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले झापामा ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती शुरु गरेको कृषकहरु बताउँछन् ।
झापाको गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गर्नुभएको छ । दुई वर्षअघि शुरु गर्नुभएको खेतीबाट गत वर्षदेखि नै उत्पादन शुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती थालेको उहाँको भनाइ छ ।
“अघिल्लो वर्ष झण्डै १२ लाखको बेचेँ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि फुल फुल्न र चिचिला लाग्न थालेको छ ।” गत वर्षभन्दा उत्पादन बढ्ने भएकाले यो वर्ष रू ३० देखि ४० लाख रुपैयाँको ड्राइगन फ्रुटको कारोबार हुने उहाँको अनुमान छ ।
गत वर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै उहाँले यस पटक बजारको अवस्था केही असजह भएको सुनाउनु भयो । “महँगो फल हो, बजार पनि असहज छ”, उहाँले भन्नुभयो, “यस पटक काठमाडौंसम्म ड्राइगन फ्रुट पु¥याउने सोच छ ।”
थापाले कृषि ज्ञान केन्द्र झापाबाट रू ७ लाख अनुदान समेत पाउनु भएको छ । गत वर्ष कार्यालय मार्फत् पिलर र थोपा सञ्चाइका लागि उक्त रकम अनुदान पाएको उहाँले बताउनुभयो ।
थापाजस्तै अर्जुनधारा–११ का कृष्ण गौतमले ८ कठ्ठामा एक हजार ६६ वटा ड्राइगन फ्रुटको बिरुवा लगाउनु भएको छ । श्री एग्रिकल्चर नर्सरी स्थापना गरेर व्यावसायिक कृषि कर्ममा लागेको उहाँ बताउनुहुन्छ ।
“झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्राइगन फ्रुट खेती शुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ ।” धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने उहाँले बताउनुभयो । ढुवानीसहित रू २५० को दरले धरानबाट ‘रोज पिटया’ नामक ड्राइगन फ्रुट बिरुवा किनेर खेती थालेको उहाँले बताउनुभयो ।
शुरुमा बिउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने बुझेपछि बिरुवा नै किनेर ल्याएको उहाँले सुनाउनुभयो । ड्राइगन फ्रुट एक पटक लगाएपछि सोहीबाट अरु बिरुवा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । एउटा पिलरमा चार वटा बिरुवा लगाउन सकिने र सोबाट ५ देखि ४० केजीसम्म ड्राइगन फ्रुट फल्ने उहाँको भनाइ छ ।
जिल्लामा छिटफुट रुपमा शुरु भएको ड्राइगन फ्रुट यतिबेला करिब ५० बिघा क्षेत्रफलमा फैलिइसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “एकै जनाले आठ बिघासम्म खेती गरिररहेका छन्”, उहाँले भन्नुभयो, “झापामा पछिल्लो समय ड्राइगन फ्रुट खेती फस्टाउँदो छ ।”
झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारा लगायतका स्थानमा कृषकले ड्राइगन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् । पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताउनुभयो ।
मल र सिञ्चाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन शुरु हुने ड्राइगन फ्रुट वर्षौंसम्म फल्छ । ड्राइगन फ्रुटको सिजन चैतदेखि असोजसम्म हो । चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ ।
कृषि ज्ञान केन्द्र झापाले ड्राइगन फ्रुट खेती प्रबद्र्धनका लागि सिञ्चाइ र पिलरका लागि अनुदान दिइरहेको छ । थोपा सिञ्चाइ र पिलरका लागि गत वर्ष रू १० लाख र यस वर्ष रू सात लाख अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापा कृषि प्रसार अधिकृत गणेश शिवकोटीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



