
सन्तोष शर्मा
भद्रपुर, २९ बैशाख । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ ।
चालू आर्थिक वर्ष २०७९÷०८० को नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
यो नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहेको छ ।
यता, मेची भन्सारले राजश्व संकलनको लक्ष्यसमेत पूरा गर्न सकेको छैन । सरकारले दिएको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजश्व संकलन गरेको छ ।
कार्यालयले उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजश्व संकलनको लक्ष्य पाएकोमा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजश्व संकलन गरेको सूचना अधिकारी लम्सालले बताउनुभयो ।
काँकरभिट्टा नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै रू १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ ।
त्यस्तै, जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारीजन्य वस्तु रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभीसी रेजिन ८० करोड ५५ लाखको आयात भएको मेची भन्सार कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैंची निर्यात भएको छ ।
त्यस्तै, फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, वनस्पतिजन्य उत्पादन (अम्रिसो) रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्च पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



